पर्यटनमन्त्रीले माफी माग्दै भने पारसविरुद्ध दरबारमा ७ लाख हस्ताक्षर बुझाएको भनेपछि नियत बुझिहाले

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार

पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं उड्ने क्रममा आफ्नो कारणले बुद्ध एयरका यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेका छन्। तर मन्त्री भट्टराईले सँगसँगै आफ्नो कारणले जहाज १५ मिनेट ढिलो हुँदा ३–४ जना आफुविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बताएका छन्।

भ्रष्टाचार विरोधी अभियानमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

‘सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो’, भट्टराईले काठमाडौं आइपुगेपछि भनेका छन्, ‘नेपालगञ्ज विमानस्थलमा ३–४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस्, त्यो हामीले कहाँ बिर्सेंका छौ र भनेपछि मैले उनीहरुको नियत बुझिहालें।’

कैलालीको टिकापुरमा आयोजित डल्फिन महोत्सवमा सहभागी भएर नेपालगञ्जबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा भट्टराई केही ढिला विमानस्थल पुगेका थिए। नेपालगञ्जबाट काठमाडौं उड्ने बुद्ध एयरको अन्तिम जहाज अरु सबै यात्रुको बोर्डिङ गराएर मन्त्रीलाई पर्खेर बसेको थियो।

मन्त्रीको कारणले जहाज ढिलो भएपछि यात्रुले उनीविरुद्ध नाराबाजी गर्नुको साथै दुव्र्यवहार समेत गरेका थिए। प्रहरीले दुव्र्यवहार र हातपात गर्न खोज्नेलाई रोकेका थिए।

प्रहरीका अनुसार जहाजमा आफुलाई भ्रष्टाचारविरोधी अभियान्ता दावी गर्ने ज्ञानेन्द्र शाहीसमेत थिए। उनकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ।

नेपालगञ्ज विमानस्थलले बेलुकी ६ बजेर २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको अन्तिम जहाज मन्त्री भट्टराई आउन ढिलाइ भएपछि करिब ४३ मिनेट ढिलो ७ बजेर ८ मिनेटमा उडेको जनाएको छ।

मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –

‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu