तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् ।

तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरिढुङ्गा खानी वर्षौंदेखि बन्द छ ।

त्यसैगरी ओखरबोटको तामाखानी आधा दशकदेखि बन्द अवस्थामा रहेको छ । स्थानीय बूढापाकाका अनुसार यहाँ तामा खानी २०० वर्षसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द भएको ताकम–९ मच्छिमका चन्द्रबहादुर छन्त्यालले बताउनुभयो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पुर्खाले उत्खनन गर्न छाडेका हुन्”, उहाँले भन्नुभयो ।

गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली लगायतका गाउँमा करीब २० वटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार छन्त्याल जातिको जनसङ्ख्या ११ हजार रहेको छ ।

परम्परागत पेशाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेशामा आबद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुँघेर पनि खानी पत्ता लगाउने गरेको सिवाङका गिरिप्रसाद छन्त्यालको भनाइ छ । “यहाँका खानीको सम्भाव्यता अध्ययन र संरक्षण आवश्यक छ”, छन्त्यालले भन्नुभयो ।

खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न सयाँै मिटर लामो सुरुङ खनिएका अझै यहाँ भेटिन्छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेटिन्छन् । तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो र कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्न सरकारले कदम चाल्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यको भनाइ छ । नीतिगतरूपमा सहज र पूर्वाधारको विकास भए खानी उत्खननका लागि लगानीको कुनै समस्या नहुने उहाँले बताउनुभयो ।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu