कथा : कथा एउटा अभिशप्त जीवनको

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार

– रीता ताम्राकार

मैंले बिर्सेंभने बित्यासै पर्ला झैँ गरी , पटकपटक कथा हाल्नु हुन्थ्यो मेरी हजुरआमा ! जिउंदी , अभिशप्त जीवन भोगिरहेकी नारीको कथा .. यसरी !!!!

” त्यो लालेको नौ सन्तानमध्ये सबैभन्दा राम्री , बाठी , हँसिली , रसिली , फरासिली छोरी हो लक्ष्मी ! ऊ पनि मेरी नातिनी नै पर्छे । तेरी दिदी पर्छे क्या .. ! तँ जन्मदा निकैदिन हाम्रो घरमा बसेर तँलाई र तेरी आमालाई स्याहारेकी । तेरो गुहुमुतसम्म सोहोरेकी छे । निक्कै पछ्याउँथिस् तँ उसलाई । बिचरी बोकीबोकी हिंड्थी । कोरीबाटी चिटिक्क बनाउँथी तँलाई । उसले तँलाई हेर्न थालेपछि हामी ढुक्कले अर्को कामतिर लाग्न पाउँथ्यौं । गुण घरीघरी लाउन सकिंदैन । एकपल्टको नै सधैं सम्झनु पर्छ । ”

हजुरआमाको मुखबाट पटकपटक सुनेकी लक्ष्मी दिदीको छोटो कथा अमिट छ मेरो मस्तिष्कमा । जब म यो सम्झन्छु । यससँगै गाँसिएर आउँछ हजुरआमाको सम्झना र वहाँको सम्झनामा दुखि दिन्छ मुटु एक झस्को । वर्षौं भयो हजुरआमाले छोडेर जानु भएको ! तर कथा जिउंदै छ र साथमा जिउंदै छ कथाको नायिकाको अभिशप्त जीवन यात्रा !!

कसरी पत्याउनु , लक्ष्मी दिदी बहुलाइन भनेर ! जब यो कुरा सुनें । रोक्न सकिन मनको चाहलाई , छेक्न सकिन आफूलाई । बतासले हुत्याएसरी पुगें । छिंडीको एउटा ओसिलो कोठामा बसेकी थिईन् दिदी । त्यहीं पुगें म । मेरो आँखाले पिउन थाल्यो ।
अस्तव्यस्त कोठा । मैलो ओढ्ने ओछ्याउने । जथाभावी फालिएका कपडा । नकोरिएको जिन्ग्रिंगे कपाल । निस्ताएको मुहार र ओइलाएको शरीर ।

” नमस्कार दिदी ! आरामै हुनुहुन्छ ? चिन्नु भो मलाई ? ” म ओंठमा विरक्तिलो हाँसो उमार्दै भन्छु ।
” चिन्नु भो मलाई !!!! तिम्रो यो प्रश्न मन परेन मलाई ! आफ्नी बहिनी , जसलाई बोकीबोकी हुर्काएं । सिगांन पुछें , गुहुमुत सोरें ! उसलाई चिन्दिन होला त ! कि तिमीले पनि मलाई अरूले जस्तै बेसुरे बहुलाई सम्झेर त्यसरी प्रश्न गरेकी ? ” चित्त दुखाईसँगै रिसको डोरी गाँसेर प्रश्न तेर्स्याइन् मतिर दिदीले ।

म अलमल्ल परें , मनमनै गुनें । खै ! कहाँ कता खुस्केको छ र दिदीको दिमागी तार ? यथावत् सहिसहि ठाउँमा विराजमान रहेछ । मात्र एउटा भ्रामक हल्ला !!

” के भन्नु भएको दिदी त्यस्तो नचाहिँदो कुरा ! म किन त्यस्तो सम्झन्थें ? सायद मेरो कुरा अलि अमिल्दो भयो कि ! माफी चाहन्छु दिदी ! ” मैले दिदीको हत्केला समातेर भने र पर्खें दिदीका शब्द र आवाज । निकै बेर !! तर अहँ दिदीको बोली फुटेन , खै ! शून्य भित्तामा के देख्दै थिइन् कुन्नि ! मग्न छिन् त्यतै ! कतै दिदी रिसाएकी पो हुन् कि ? मनमा एक झुल्को शंका झुल्क्यो ।
” दिदी ! मसँग रिसाउनु भएको ? धेरै दिन भयो दिदीलाई नभेटेको भनेर घरमा उसै लथालिंग छोडेर आएकी म त ! कुरा गरौँ न् दिदी ! बाडौं मनका कुरा , नरिसाउनुसन है ! ” मैले दिदीलाई झक्झकाएर भनें ।

साँच्चै नै झसंग झस्किन् दिदी ! नियालेर मलाई हेरिन् , मेरो मन आरपार हुने गरी तिखो दृष्टीले । म भित्रभित्र असजिलोमा परे पनि , बाहिर असजिलोपन झल्कन नदिई निर्विकार रहें । मलाई निकैबेर हेरेपछि , दिदीको ओंठमा अर्थपूर्ण मुस्कान बल्ल उदायो । मैले पनि दिदीको मुस्कानसँग मुस्कान गाँसे । लाग्यो , ओंठको एक स्वच्छ स्निग्ध मुस्कानमा मन सँगसँगै कोठा उज्यालो पार्ने प्रकाश पो हुँदोरहेछ ।

” साँच्चै मुना ! तिमी त कथा लेख्छौ रे नि ! निक्कै राम्रो हृदयको कुनासम्म छुने हुन्छन् रे तिम्रा कथा । खै !! दिदीलाई सम्झेर पढ्न दिए पनि त हुन्थ्यो नि ! तर … म जस्तो बेसुरीलाई लोग्ने , छोराछोरीले त पत्याउन छोडिसके । तिमीभित्रको लेखकले के पत्याउला र ! ” खै कस्तो कस्तो , विश्लेषण गर्ने नसकिने भाव आँखाभरि भरेर फेरि गहिरो निहारिन् दिदीले मलाई ।
मन सिरिङ्ग पार्दै सोंचिरहें । कुन अधर्मीले दिदीलाई बहुलायो भन्यो ? भर्सेलो परोस् त्यो पापिष्टको ! एउटा सद्दे मान्छेलाई बहुलायो भनेर थुनेपछि ऊ साँच्चै बहुलाउन कतिदिन लाग्छ र !

” हजुर दिदी ! लेख्छु अलिअलि ! के गर्नु दिदी , जीवन जिउनेक्रममा अनेक भोगाइ भोग्नु पर्छ , देख्नु पर्छ , सुन्नु पर्छ । मनमा नानाकिसिमका भावहरू उर्लन्छन् । त्यो अक्षरमा नपोखेसम्म छट्पटी हुन्छ मनमा । अनि यसो लेख्ने प्रयास गर्छु । दुईवटा कथासंग्रह पनि निकालें नि दिदी । यी तपाईंलाई कोसेली स्वरूप ल्याईदिएकी छु । ” म दिदीको हातमा किताब राखिदिन्छु ।
दिदी निकैबेर घोरिन्छिन् किताबमा । सुमसुमाउँछिन् सानो नानीलाई जस्तै । तरक्क दुई थोपा आँसु खसाल्छिन् । एक स्नेहशिक्त चुम्बन जड्छिन् । एकछिन छातीमा टाँस्छिन् । मेरो मन एकतमासको भएर आयो । म दिदी भन्दै उनलाई अँगालो हाल्छु । मेरा आँखा पनि ओभाना रहँदैनन् ।

अंगालोमा बेरिएको दिदीको सुकेको शरीरले मभित्र प्रश्न जन्माउँछ । खै ! दिदीको त्यो कान्तिमय देह ? झरनाजस्तै लहराउँदो बाक्लो सुन्दर कपाल ? उल्लासको सपनामा प्रफुल्लित बन्ने तेजमय आँखा ? महजस्तै मिठासपूर्ण बोली बोल्ने सुन्तलाका केस्रा जस्ता गुलाबी , सुन्तले हिस्सी बोकेका ओंठ ? गालामा उदाइरहने लाली गुराँसको रंग खै ? हरेकपल सिंगो मुहारमा नाचिरहने त्यो मोहका हाँसो कुन हुरीले उडायो ?

दिदीको जीवनबाट सबै कुरा खोस्ने व्यक्ति के साँच्चै दिदी कै स्वार्थी र महत्वाकाँक्षी लोग्ने नै हुन त ? त्यति विधि मन पराएर ल्याएकी प्राणप्यारी स्वास्नीमा किन जाग्यो उनको मनमा वितृष्णा ? निरुत्तर मेरा प्रश्नहरु एकअर्कामा गुजुल्टिएर फुकाउनै नसकिने धागोको डल्लो बन्यो ।
” मुना ! मेरो पनि कथा लेखिदेउ न है ! म तिमीलाई मेरा जीवनका गाथाहरु नलुकाई भन्छु । मेरो जीवनको भागमा परेको थोरै सुखद पल र अजंगको दु:खद पलको पन्नापन्ना पल्टाएर पोखाउँछु तिमीलाई । लेखिदिन्छौ मुना ? ” मेरो अंगालोबाट छुट्दै दिदीले यसोभन्दा पो म आफूभित्रको आफैंलाई छोडेर निस्कन्छु बाहिर ।

” हुन्छ नि दिदी ! अनुमति दिनुहुन्छ भने लेख्छु । तर भिनाजु र नानीहरुले के सोच्ने हुन् ! ” म आफ्नो अप्ठयारो पोख्छु ।
” जे सोंचुंन् ! मेरो जीवन मेरो खुसी । मैले कसैलाई हस्तक्षेप गरेकी छैन । कसैले मलाई नगरोस् पनि ! भनन लेख्छौ ? ” मतिर आशे नजर तेर्स्याइन् दिदीले ।

” हुन्छ दिदी ! कहिले आउँ त दिदीको जीवनकथा सुन्न म फेरि ? ”
” कहिले किन ? आजै भन्छु , आफ्नो जीवनगाथा कथाजस्तै बनाएर । सबै कहन्छु मनको व्यथा ! तनको वेदना ! मनको तृष्णा र मनमै उर्लने वितृष्णा ! ” अहो !! दिदीले त झन्डै कवितात्मक शैलीमा पो गरिन् त कुरा । मभित्रको कथाकार लक्ष्मी दिदीको कथा सुन्न तयार भएछ ! अझ भन्नु पर्दा हतारिएछ ।

आफूसँग हुरुक्क हुने कैयौं धनवान र रूपवान मान्छेलाई पन्छाएर , निम्नवर्गको सानो जागिर खाने अजात केटासँग हाम फालेकी हुन्छे लक्ष्मी । माइतीकाहरु रिसाएर केही समय मरेतूल्य सम्झेका हुन्छन् उसलाई । परिवर्तनशील समय सँगसँगै मानिसको अडान , व्यवहार , स्वीकार अस्वीकार र मनस्थितिमा परिवर्तन अपरिहार्य रहन्छ । त्यस्तै भयो लक्ष्मीको सुझबुझले गृहस्थी सप्रदै गयो । माइतमा पनि धेरथोर सहयोग गर्न थाली । ज्वाईंले पनि रेखदेख गर्न थाले । सामान्य र सहज बन्यो सम्बन्ध ।

समय बित्दो क्रमसँग दुई छोरा र एक छोरीकी आमा बनिन् लक्ष्मी । अत्यन्तै सुन्दर र सुखी परिवारमा लक्ष्मी पूर्ण सन्तुष्ट र समर्पित थिईन् । आफ्नो लोग्नेको अतुलनीय अवर्णनीय मायामा लक्ष्मी संसारकै भाग्यमानी महिला ठान्थिन् आफूलाई ।

तर अचानक फागुन चैतको बहुला हुरीले विनाश र विपत्ति उडाएर ल्याए जस्तै , एउटा खबर उडाएर ल्यायो लक्ष्मीको जीवनमा नियतिको हुरीले । हाकिमकी स्वास्नीसँगको लसपसले जागिर खोसिएछ उसको लोग्नेको । जागिर गुम्नुको पीडाभन्दा कयौं गुणा ठूलो चोट आफूमाथिको विश्वासघातले पर्यो लक्ष्मीको हृदयमा । लोग्नेको मायामा अन्धो मन तयार छैन उडेर आएको खबर साँचो मान्न । अर्को मन जसले वस्तुस्थिति स्वीकारेर संवेदनशील बनेको छ । यी दुई मनको भुमरीमा फंसेर अत्यन्तै कष्टकर जीवन यात्रारत लक्ष्मी , एक तमासकी बन्दै गई ।

उसको लोग्नेले जागिर खाएन फेरि कतै , जग्गा दलालको काम गर्न थाल्यो । घर आउने र घरबाट जानेको टुङ्गो भएन । घर फर्कंदा पाइला ठाउँमा राखेर घर पस्न छोड्यो । सानासाना नानीहरुसँग लक्ष्मी एक्लै व्यवहार र मनको उहापोहमा पिल्सिंदै गई । उसलाई सुइंको नदिई घर पनि बेचेछन् लोग्नेले । त्यसपछि घर बनाउँदै सर्ने र केही समयपछि बेच्ने , यो क्रमले निरन्तरता पाईरह्यो । लालाबालासँग घर सार्दै हिंड्ने काम अत्यन्तै कष्टकर रह्यो लक्ष्मीको निम्ति ।

जग्गा किनबेचको कामसम्म ठिक थियो तर घर बेचबिखनको काम सह्य भएन लक्ष्मीलाई । ऊ आजित थिइ लोग्नेको एकछत्र राजबाट । मनमा कुरा खेलाउंदा र गुम्साउँदा ऊ हतास सँगसँगै विचित्रकी बनी । उसको स्वभाव र व्यवहारमा निकै परिवर्तन भयो । एकदिन अबेला मातेर घर फर्केका लोग्नेको टाउकामा आग्लोले बजारेर पट्ट टाउको फुटाई दिई ।

बाहिरी देख्दा त यो घटनापश्चात् पनि उसको लोग्ने ऊप्रति सामान्य नै रह्यो । तर भित्रभित्र …. !! अहो ! खपी नसक्नु अत्यन्तै कष्टकर यातना दियो लोग्नेले लक्ष्मीलाई । निदाईरहेको बेला ट्याप्प बाक्लो टालोले मुख बाँधी दिनु , हातखुट्टा बाँध्नु र चुरोटले लुगाले छोपिने संवेदनशील अंगमा डाम्नु । ठाउँ कुठाउँ टोकेर नीलडाम बनाउनु । मुहारभरि थुक्नु ! रातभरको यस्तो यातना सहेर दिनमा कसरी सामान्य हुन् सक्थी लक्ष्मी !!

ऊ एकोहोरिन थाली । विरोधका स्वर उसले पटक्कै सुसेलिन । किन सही सबै , जवाफ कहिले ऊसंगै रहेन । तर सहनसम्म सही आफूलाई दबाएर सही । ऊ एकोहोरिने क्रममा घर व्यवहार लथालिंग भयो र एउटा गतिलो निहुँ भयो कान्छी हुल्न । आइमाईको मुटुमा बिझ्ने शूल सौता ! एकोहोरिएर बस्ने लक्ष्मीले अब व्यवहारिक रुपमा मात्र होइन भौतिक रुपमा पनि लथालिंग भताभुंग पारी आफूलाई । समय विपक्षी बनिदिंदा आफैंले जन्माएका संतान पनि बैरी झैं बन्दो रहेछ । त्यस्तै भयो , छोराछोरीसम्म तर्कन थाले उसँग । चोटमाथि घाउ थपेजस्तै भयो ।

एकरात दाउ पारेर चिर्पट दाउराले प्वाक्क पारी फेरि लोग्नेको निधार उसले । पहिले दिनसम्म दिएको यातना दोह-याउन उचित ठानेनन् क्यार ! अबको दिन थुनेर एक्लै राख्न थाले उसलाई । थुनेर राखे पनि , यातना दिए पनि , बहुलायो भने पनि लक्ष्मी आफैंलाई आफूमाथि पूर्ण भरोसा थियो आफू नबहुलाएको कुरामा । किन गर्न नहुने काम आफूबाट पटकपटक भइरहेछ भन्ने आफ्नै मनको प्रश्नमा केही समय निरुत्तर पनि रहन्थी ऊ तर तुरुन्तै उसको अन्तरआत्मा बोल्थ्यो ।
यो सबै लोग्नेको परिवर्तित व्यवहार , अन्याय ,अत्याचार ,उच्च स्वार्थ र अत्यधिक महत्वाकांक्षाले सिर्जना गरेको एक विषम परिस्थिति हो । ऊ बहुलाएकी होइन किमार्थ होइन ।

थुनिएर बस्दाको पीडा उग्राउन होस् वा बाहिरी संसारसँग साक्षात्कार हुन होस् । दाउ पारेर एकदिन हिंडीछिन् लक्ष्मी गन्तव्यहीन यात्रा । भोलिपल्ट मात्र फेला पारे लोग्नेले एउटा मन्दिरको पाटीमा उसलाई । ईज्जतको दोहोलो काढ्ने भनेर अब लक्ष्मी थुनुवासँगै बँधुवा पनि बनिन् । उसको कोठा फोहर मात्र होईन दुर्गन्धित पनि बन्न पुग्यो । आफूमाथिको असहय अत्याचारको बदला लिन उसले पनि हात परेको सामान जथाभावी फाल्न थाली ।

दुर्भाग्यको खेल ! उसले हानेको गिलासको धारले कान्छीको निधार काट्यो , रगतको धारा बग्यो । त्यस घटनापछि कान्छीको बाँधिएको हात फुक्का भयो लक्ष्मीलाई कुटपिट गर्न ।
आज धेरै दिनमा फुकेकी छे लक्ष्मी बन्धनमुक्त भएर !!

” तिमी लेख्ने मान्छे , डराएका छन् तिम्रा भिनाजु कहीं उनका करतुत भण्डाफोर नहोस् । तिमी आज आउने कुराले हिजो नै यो कोठा सरसफाई गरे । मलाई आज बिहानै बन्धनमुक्त गरेर धम्क्याएका छन् केही नसुनाउनु भनेर । तर मैले मेरो जीवन उदाङ्गो पारेर राखें मुना तिमीसामु । लेखिदेऊ मेरो अभिशप्त जीवनको दु:खद कथा ! बुझुन् मान्छेले लक्ष्मी बहुलाएकी छैन । सद्दे छे , एकदमै सद्दे ! पटक्कै बहुलाएकी छैन । ”
लक्ष्मी दिदी आफ्नो कथा सकेर क्वाँ क्वाँ रोईन् । बिचरी दिदी कतिदिन देखि बाँध लाएर थुनेको होला आँसुलाई ! मैले पनि आँसु रोक्न सकिन ।

” हुन्छ दिदी ! अब म अर्को पटक छिट्टै आउने छु र साथमा ल्याउने छु मेरी दिदी नबौलाएको कथा । दिदी मेरो विश्वास गर्नु हुन्छ ? म मेरो कलमबाट जन्मने अक्षरले तपाईंलाई यो भुक्तानबाट छुटकारा दिलाउने कोसिस गर्नेछु । ” बिचरी दिदी एउटा निर्दोष बच्चाको आँखामा तैरिने भाव लिएर मलाई अलपक निहारि रहेकी छिन् ।

” हो दिदी ! ममाथि विश्वास गर्नु होला है । म अलि दिनपछि आइहाल्छु । म अहिले जान्छु । मन दह्रो बनाउनुस् दिदी । आफ्नो जीवनको सुन्दर पक्षलाई सम्झनुस् । उज्यालोतिर हेर्ने प्रयास गर्नुस् दिदी ! म गएँ अहिले , आफ्नो ख्याल राख्नुस् । ” मैले सकिन दिदीका शब्दहरु पर्खन , जुरुक्क उठेर हिंडे ।

शिष्टाचारको निम्ति भिनाजुसँग बिदा माग्नु थियो , खोज्दै बैठक कोठा पुगें । कान्छी स्वास्नी र छोराछोरीसँग मस्त रमाइरहेका थिए उनी ।

” भिनाजु ! म जान लागेकी । ” दैलोबाट नै बिदा मागें ।
” कहाँ र साली नानी ! दिदीसँग बस्यौ धेरैबेर , अब एकछिन् त भिनाजुसँग पनि भलाकुसारी गर्नु पर्यो नि ! के गर्नु तिम्री दिदीलाई निको पार्न सकेसम्म उपाय लाइसके । बीसको उन्नाईस भएन । ” एकछिन रोकिए , सायद मेरो प्रतिक्रिया पर्खेका होलान् । म किन केहि बोल्नु ? भरखरै दिदीका मुखबाट सुनेका यिनका अत्याचार सिनेमाका दृश्यझैं मेरा आँखामा सलबलाउन छाडेको छैन ।

” ए साँच्चै !! तिमीलाई त केही गरिनन् ? हामीलाई त देखी सहन्न , म त डराइरहेको थिएँ तिमीलाई पनि कतै ….. !! ” कुरा अधुरै छोडेर पुन: मेरो मुख ताके केहि क्षण ! अझै बोलिन् म । सोचें कति झुठ , मक्कार , चेपारे हो यी भिनाजु । भित्रभित्र रिस उठ्छ मलाई ।
” केही त बोल साली नानी , तिमीले त भिनाजुसँग बोल्दा पैसा नै लाग्ला झैँ पो गर्यौ त । ” निक्कै तिखो नजरले हेरे भिनाजुले मलाई ।
” होइन नि भिनाजु , घर जान ढिला भएर हतारिएकी मात्र !! ” मन नलागे पनि बोल्नै प-यो यति !

” खै ! जति माया दिए पनि , राम्रो गरे पनि , किन हो बहुलटिपन देखाउन नछोडेकी । अब त केटाकेटी पनि अगाडि जान छोडिसके । आफूसँगै च्यापेर राख्न खोज्यो तर्केर त्यही छिंडीको ओसिलो कोठामा जान्छे । जे गरे पनि नसकिने भो ! के के भनी तिमीसँग ? ” चेपारे पार्दै कुरोको चुरोमा आए भिनाजु ।

” त्यस्तो खास केही भन्नु भएन । यसो दु:खसुख बाँडयौं । त्यति हो । म जान्छु भिनाजु , अबेला भो । ” म भिनाजुको जवाफ नपर्खी फर्कें । अहिले किन भन्नु के के भनिन् दिदीले , छिट्टै पढ्न पाउनेछौ आफ्नो कारतुत उनिएको कथा र बाध्य हुनेछौ मेरी दिदीलाई न्याय दिन भन्ने गुन्दै । छिंडीबाट माथि उक्लिएर , दैलोको पल्ला समातेर आशाजन्य नजरले अझै मलाई हेरी रहेकी थिइन् दिदी !!

— इटहरी / बालग्राम चोक
९८६२०६२१९९

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu