नेताले चरित्र नसुधारे नेपालका कम्युनिस्टलाई जनताले लखेट्ने दिन आउन सक्छः प्रचण्ड

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी -नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको बताएका छन् । प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको बताए ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको र कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको भन्दै यस्तै प्रवृति देखीय जनताले कम्युनिस्टहरुलाई लखेटने दिन आउने बताएका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।

‘नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थाल्यो’, उनले भने, ‘यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वी युरोपमाजस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै कम्युनिस्टलाई लखेटेजस्तै यहाँ पनि त्यो अवस्था आउन सक्छ।’

बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो । वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिँदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो ।

त्यसअघि नेकपाका केन्द्रीय सदस्यद्वय सूर्य थापा र रामप्रसाद सापकोटावीच सामाजिक सञ्जालमै भनाभन र झगडा भएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu