नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, आन्तरिक विषयलाई टुग्याउने विषयमा छलफल केन्द्रित

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

काठमाडौं । अन्तरिम संरचना निर्माणका बारेमा लामो छलफलपछि सहमतीमा पुगेको नेपाली काँग्रेसले अन्य आन्तरिक विषयलाई टुग्याउन आज पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बरिष्ठताका आधारमा अन्तरिम संरचना गठन गर्ने निर्णयगरेपछि स्थगित भएको बैठक आज दिउसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । गत असार २२ गतेदेखि सुरु भएको बैठकमा १४ बुँदा छलफलका लागि तोकिएकोमा अहिलेसम्म अन्तरिम संरचना गठनको विषय मात्रै टुंगीएको छ ।

नियमावलीको बारेमा पटक पटक छलफल भएपनि अहिलेसम्म निर्णय हुनसकेको छैन भने पछिल्लो समय तत्कालिन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी समायोजनका बेला भएको सहमती कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

बैठकमा आज पार्टी समायोजनसँगै भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन, मान्यता प्रदान, पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुको अधिवेशन प्रक्रिया, जनसम्पर्क समितिका सम्बन्धमा छलफल हुने बताइएको छ ।

त्यसैगरी गत बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको जागरण अभियानको समिक्षा र आउदो अभियानको योजना, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा पनि छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu