ठेकेदारको लापरबाहीले राष्ट्रिय गौरव आयोजनाको सडक अलपत्र

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

पर्वत । राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक निर्माणको काम अस्तब्यस्त बनेको छ ।

सडकलाई विस्तार गरी दुई लेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले वीच मै अलपत्र पारे पछि सडक निर्माणको काम अस्तब्यस्त बनेको हो । मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कास्की नयाँपुल देखि पर्वत मालढुंगासम्मको झण्डै २४ किलोमिटर सडक खण्ड निर्माण चरणमै अलपत्र परेको हो । निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले निर्माणको काम छोडेको छ ।

वर्षाका कारण काम रोकेको भनिए पनि निर्माण कम्पनीले वर्षा नै नभएको बेला काम रोकेर लापरबाही गरेको भन्दै स्थानीय असन्तुष्ट भएका छन् । निर्माण चरण अन्तर्गत सबै खण्डमा भित्तो भत्काउने र पर्खाल लगाउने काम मात्र गरेको निर्माण कम्पनीले सडकको बेस र सवबेसको काम नै नगरी सडक अलपत्र पारे पछि सडकको २० किलोमिटर खण्डको यात्रा कष्टकर छ ।

निर्माणको काम किन बिचमै रोकियो ? लोकमार्ग आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयो, ‘हामीले ७० देखि ७५ प्रतिशत काम गरौं है भनेर सल्लाह गरेर त्यही हिसाबले मालढुंगादेखि पर्वतसम्म पिच गर्न भ्याइन्छ कि भनेर बजारसम्म भन्ने लक्ष्यका साथ काम अगाडी बढाएका थियौं । तर उहाँहरुको आन्तरिक तयारी नपुगेका कारण सोचेजस्तो काम हुन सकेन ।’

लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुरुप हुन नसकेको र निर्माण कम्पनी लामा कन्ट्रक्सनले कार्यालयले समयमा भुक्तानी नदिँदा समस्या भएको बताउँदै आएको छ ।

निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका प्रतिनिधी गोबिन्दप्रसाद भुसालले त्यति ठूलो समस्या नभएको र केही दिनमै काम सुरु हुने बताउनुभयो । निर्माण कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको हो । सडकको अधिकांस ठाउँमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने लगायतका संरचनाको काम भएपनि मुख्य समस्या रहेका ठाउँमा काम शुरु नै नहुँदा वर्षातको समय यात्रुहरुलाई समस्या भइरहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu