त्रिशूली बस दुर्घटनामा बेपत्ताको खोजीमा ५ जिल्लाका प्रहरी परिचालन

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ४ जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, नवलपरासी पूर्व र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीमा लागेका छन्। खोजीकार्यलाई प्रभावकारी बनाउन सबै जिल्लाका सुरक्षा निकायलाई समन्वय गरिएको हो।

चितवनको कुरिनटारमा सोमबार बसेको समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन्। वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

गत शुक्रबार मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौंतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो। हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको मात्रै शव फेला परेको छ। उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए।

खोजीकार्य गर्न हिँडेरमात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका ६ वटा रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu