हिम्मत होस् त यस्तो, ‘त्यो सानो सुँगा’को जस्तो- प्रेरणादायी अनि रोचक कथा

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

काठमाण्डौँ – धेरै वर्ष पहिले एउटा ठूलो जङ्गलमा एक सुँगाको जन्म भयो। आफ्ना परिवार र साथीसँग खेल्दै रमाउँदै ऊ ठूलो भयो, उँड्न सक्ने भयो। एकदिन त्यस जङ्गलमा विशाल वर्षा भयो। हावाहुरी, आँधीतुफानले मात्रै नभएर जमीन थर्काउने चट्याङ पर्न थाल्यो। जङ्गलमा सबै पशुपक्षी अनि त्यो सुँगाको परिवार यत्रतत्र हुन पुगे। हेर्दाहेर्दै एउटा भयङ्करको चट्याङ ऊ बस्ने रुखमा खस्यो र एउटा सानो आगोको झिल्काले बिस्तारै सारा जङ्गल नै अग्नीमय हुन थाल्यो।

“आगो! आगो!” त्यो सानो सुँगा कराउन थाल्यो- “सबैजना नदीतिर भागौँ!” आँधीको वेगमा आफ्नो पँखेटा चलाउँदै ऊ नदीतर्फ लाग्न थाल्यो। तर उँड्दै गर्दा उनले जङ्गलको आगोको बीचमा अझै पनि कति जनावरहरू फसिरहेको देखे, जहाँबाट निस्कने कुनै बाटो थिएन।

अचानक, उसको दिमागमा एउटा जुक्ति जाग्यो, सबैलाई बचाउने एउटा दृढ सङ्कल्प उठ्यो।

हतारहतार नदीतर्फ उडेर माथिबाट पानीमा हाम्फाले, आफूलाई पानीले भिजाए र जलिरहेको जङ्गलतर्फ लागे।

उँड्दै गर्दा उसलाई यस्तो लागेको थियो कि ऊ कुनै विशाल तातो भाँडामाथि उँडिरहेको छ। आगोले पुरै जङ्गल सखाप हुन लागिसकेको थियो। बाक्लो धुँवाले सास फेर्न पनि मुश्किल भैसकेको थियो। आगोको लप्काले आकाश ढाकेको थियो। त्यस्तो अवस्थामा पनि बिचरा त्यो सानो सुँगा बल गर्दै उँड्दै खोक्दै आगोको लप्कालाई छल्दै आगो लागेको ठाउँको बीचमा पुगे। त्यहाँ माथि पुगेर उनले आफ्नो पँखेटा छड्कारे। पँखेटाबाट खसेका पानीका केहि थोपाहरू आगोको चमकमा सागरको रत्नसरी चम्किँदै जमीनमा पुगी फुस्स्स गरेर बिलाए।

त्यसपछि त्यो सुँगा फेरि आगो र धुँवालाई काट्दै नदीतर्फ उडेर पानीमा डुबुल्की मार्दै फेरि जङ्गलतर्फ उडेर पानीका थोपाहरू खसाल्दै गर्न लागे। जङ्गलदेखि नदी, नदीदेखि जङ्गल ओहोरदोहोर गर्दा उनको पँखेटा थाकिसकेको थियो, खुट्टा जल्न लागिसकेको थियो, धड्कन फुलिसकेको थियो। उसको आँखा जलिरहेको कोइलासरह रातो भैसकेको थियो। तरपनि, ऊ उँड्दै थियो।

त्यो सानो सुँगाको यस्तो बिजोग भैरहेको बेला अनि जङ्गलमा सारा पशुपक्षीहरू जलेर खरानी हुन लागिरहेका बेला, माथि आकाशभन्दा पनि माथि, बादलपारीको देवलोकमा सारा देवहरू अप्सराको नृत्य र फुलको सुगन्धमा मस्त हुँदै थिए। यसैबीच उनीहरूको मजर त्यो सानो सुँगामाथि पर्न गयो। पानीमा डुबुल्की मार्दै पँखेटाको पानीले जङ्गलको आगो निभाउने त्यो बेअर्थको प्रयास देखेर उनीहरू हाँस्न थाले, खिल्ली उडाउँदै भने- “हेर न त्यो मूर्ख चरालाई!“

तर, सारा देवहरूमध्ये एउटा देवको मन त्यो सुँगाप्रति कोमलो हुन पुग्यो। एउटा सुनौलो विशाल चीलको रूप धारण गरी ऊ धर्तीतर्फ उँडे, त्यो सानो सुँगाप्रति दया गर्ने हेतुले।

आगोको बीचमा पुग्नै लाग्दा त्यो सुँगाको छेउमा सुनौलो वर्णको चमकदार विशाल चील देखा पर्यो। गम्भीर र भद्र स्वरमा चीलरूपी देवले सुँगालाई भने- “हे चरी! तिमी फर्किउ! यस्तो निराशजनक काममा आफ्नो समय खेर नफाल। पानीको केहि थोपाले जङ्गलको आगो निभाउन सक्दैन। यस्तो निरर्थक काम नगर र आफ्नो ज्यान बचाऊ!“

तर त्यो सुँगा अझै उँड्दै थियो। सुनौलो चीलको कुरा पनि उनले नसुनेको होइन। “मलाई ठूलो सुनौलो चीलको…” खोक्दै- “सुझावको आवश्यकता छैन। सबै सल्लाह मात्रै दिन्छन्। मलाई (ख्वाकख्वाक) सल्लाह हैन, मद्दतको आवश्यकता छ।“

त्यसपछि त्यो देव, जो सुनौलो चील बनेर धर्तीमा आएका थिए, उसले आगोमाथि उँड्दै पानीको थोपाले आगो निभाउन खोज्ने सुँगा देखेर अचानक देवलोकका देवता भनौदाहरूलाई सम्झिन थाले। त्यो पारी आकाशमाथि उनीहरूको हाँसो उनले तलैबाट सुन्न सक्थे। बेमतलबी भगवानहरू, हाँस्दै र भलाकुसारी गर्दै छन्, जहाँ उनीहरूको छत्रछायाँमा बसेका पशुपक्षीहरू जलेर खरानी हुँदैछन्। उसलाई आफू पनि त्यहि देवता भएकोमा लाज लाग्न थाल्यो। अब उसको मनमा एउटा सानो प्रकाशको ज्योती फुट्यो। ऊ भगवान थिए, तर एकछिनको लागि उ त्यहि सानो सुँगाजस्तै साहसी बन्न चाहन्थे।

“म मद्दत गर्छु!” उनले चर्को स्वरमा भने। गौरव महशुस गर्दै उसको मनमा अनेकथरी नयाँ किसिमका भावनाहरू फुट्न थाले। साहस र आँटको वर्षा उसको आँखाबाट झर्न थाल्यो। ऊ रुन थाले। उसको सुनौलो आँखाबाट आँशुको धारा बग्न थाल्यो, त्यहि आँशुको भेल बनेर जङ्गलको आगोलाई निभाउन थाल्यो। उसको आँशुले जङ्गलको हरेक कणकणमा स्पर्ष गर्यो। रूखको हाँगा, पशुपक्षी अनि त्यहि सानो सुँगालाई पनि चीलको आँशुले भिजाएको थियो।

अन्ततः आगो निभ्यो, धुँवा पनि बिस्तारै हट्दै गयो। त्यो सानो सुँगा, चीलको आँशुले भिझेर सफा र सुन्दर देखिएका थिए। ऊ एकपल्ट माथि आकाशमा उडेर तल हेरे, सबै आगो निभेको थियो। खुसीले रमाउँदै चिच्याए- “हुर्रे!“

चीलो आँशु जलिरहेको रूखको हाँगाबाट तप्प तप्प चुहिँदै थियो। भष्म हुन लागेको धर्तीबाट बाफ निस्कँदै थियो। जहाँ जहाँ आँशुले पखालेको थियो, चमत्कारपूर्ण त्यहाँत्यहाँबाट नयाँ जीवनको सुरुवात हुन थाल्यो- जलेर कालो भएको रुखको हाँगामा फेरि हरीयो पातको मुना पलाउन थाल्यो, जमीनबाट हरीयो घाँस पलाउन थाल्यो। त्यो सुँगाको पँखेटामा पनि नयाँ प्वाँख पलाउन थाल्यो। रातो प्वाँख, हरीयो प्वाँख, पहेँलो प्वाँख, रङ्गीचङ्गी! आहा कस्तो राम्रो सुँगा!

जलेर प्राण त्यागेका जनावरले पनि फेरि एकपल्ट सास फेर्ने मौका पाए। सबै नयाँ र पूर्ण। कसैलाई पनि चोट लागेको थियो। सबैले एक-आपसलाई हेरे, सपना जस्तो लाग्यो। र माथि नीलो आकाशमा आफ्नो बहादुर सानो साथीलाई देखे। त्यो सुँगा, सानो सुँगा- सबैको आशा जलेर नष्ट हुन लागेको बेला कसरीकसरी उसले सबैलाई बचाए, पानीको थोपाले !

कथा स्रोत– रेफ मार्टिन र सुजेन गेबरद्वारा रचित कथासङ्ग्रह “द ब्रेभ लिटल प्यारट“

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu