डेंगुबाट ४ महिनामा ३ हजार ४ सय २५ बिरामी, पहाडी जिल्लामा पनि संक्रमण बढ्दो

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार

काठमाडौं । तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् ।

गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ ।

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो । प्रदेश तीनमा मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ ।

त्यस्तै गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा एक र सुदूर पश्चिममा १२ जना बिरामी भएका छन् । लामखुट्टेले टोक्दा डेंगु हुने गर्छ । पानी जम्ने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार डेंगुका कारण बढी ज्वरो आउँछ । टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता डेंगुका साधारण लक्षण हुन् ।

डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डाक्टरको सल्लाह छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu