त्यो बेलामा ‘आइमाई हाँस्यो कि नास्यो भनिन्थ्यो ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार


-अञ्जु कार्की
‘हाँस्नु छैन कदापि नारीहरूले, वेश्या हुने हाँस्दछन् । वेश्या नहुन् तथापि घरको काम ती सबै नास्दछन् ।’

धेरै घोत्लिँनै पर्दैन, गहिरो अनुसन्धान गर्नै पर्दैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले वधुशिक्षा कवितामा लेखेका यी हरफहरू पढ्ने हो भने नेपाली समाज कुन अवस्थाबाट गुज्रँदै आएको रहेछ ? भन्ने प्रश्नको उत्तर भेटिन्छ । भानुभक्तले करिब एक सय ५० वर्षअघि यो कविता लेखेका हुन् । त्यति पर नजाऊँ अहिले पनि नेपाली महिलामाथि यस्तै थिचोमिचो छ । एक सय ५० वर्षअघि यो कविता लेखेकोमा भानुभक्त आचार्यलाई गाली गर्नेहरू पनि हाम्रो समाजमा छन् । तर, अहिले पनि त्यो अवशेष बाँकी नै छ ।

बाँके जिल्लाका महिलाहरूले यतिवेला गरिरहेको आन्दोलन हाम्रो समाजको प्रतिविम्ब हो । नयाँ मुलुकी संहितामा छोराको विवाह गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २० वर्ष बनाइएको छ भने छोरीको विवाह गर्ने न्यूनतम् उमेर १६ वर्षबाट बढाएर २० वर्ष पु¥याइएको छ । छोरीको विवाह गर्ने न्यूनतम उमेर १६ वर्ष नै कायम गर्नुपर्छ भन्दै बाँकेका महिला आन्दोलित छन् । बाँकेको त उदाहरण मात्रै हो । खासगरी मधेसी समाज कानुनमा तोकिएको यो प्रावधानको खुलेरै विरोधमा आएको छ । पहाडको ग्रामीण समाजमा पनि बालविवाह कायमै छ ।

उमेर ढाँटेर विवाह गर्ने प्रचलन यथावत् छ । खासगरी, महिलाका लागि सबैभन्दा ठूलो कलंक नै बालविवाह हो । जबसम्म बालविवाह उन्मूलन हुँदैन तबसम्म महिला मुक्तिको कल्पना नगरे पनि हुन्छ । कानुनद्वारा न्यूनतम उमेर तोकेर मात्रै यो समस्या समाधान हुने अवस्था छैन । जनचेतना आवश्यक छ । जसरी प्रदेश २ सरकारले ‘बेटी पढाओ, बेटी बचाओ’ अभियान ल्याएको छ त्यो अभियानलाई पहाडका गाउँ–गाउँमा पु¥याउनु जरुरी छ ।

बिपी कोइरालाका तीनवटा छोरालेभन्दा गिरिजाप्रसाद कोइरालाकी एक्ली छोरी सुजाताले पैतृक विरासत धानिरहेकी छिन् । उनले विराटनगरको कोइराला निवासमा गज्जबको बिल्डिङ बनाएर आफ्ना बाबुको नामको जिपी कोइराला फाउन्डेसन सञ्चालन गरिरहेकी छिन् तर बिपीका तीनवटै छोराहरूको विराटनगरसँगको सम्बन्ध पातलिएको छ

हाम्रो समाज पिँढी शिक्षाद्वारा नै अघि बढ्दै बढ्दै यहाँसम्म आइपुगेको हो । आफ्नो ज्ञान तथा अनुभव बाबुले छोरामा हस्तान्तरण गर्दै जाने पद्धति नै पिँढी शिक्षा हो । बाबुले छोरालाई आफ्नो ज्ञान तथा अनुभव हस्तान्तरण गरेजस्तै आमाले छोरीलाई आफ्नो ज्ञान तथा अनुभव हस्तान्तरण गर्ने अवस्था भने केही जटिल थियो । रजश्वला नहुँदै विवाह गर्ने प्रचलन थियो । १० –१२ वर्षको उमेरमा विवाह गरेर पराई घर पठाइएकी छोरीले आफ्नी आमालाई भेट्न पाउने भनेको तीज, तिहारजस्ता सीमित चाडपर्वमा केही दिनका लागि मात्रै हो ।

अहिले प्राइभेट अफिसका कर्मचारीहरूले हाकिमसँग बिदा स्वीकृत गराएर घरमा गएजस्तै सासुसँग बिदा स्वीकृति लिएर माइत जानुपथ्र्यो । एक दिन मात्रै बिदा कट्यो भने सासुले घरभित्रै छिर्न नदिने सम्भावना पनि हुन्थ्यो । एक दुई दिन बिदा नाघेका कारण सासुले सधँैका लागि घरभित्रै छिर्न नदिएका घटनाहरू त्यतिवेला धेरै हुन्थे । छोटो समय मात्रै आमासँग रहन पाउने छोरीले ज्ञान तथा अनुभव कसरी लिन पाउनु । बुहारीले सिक्ने भनेको सासुबाट आफूले पाएको बुहार्तन मात्रै थियो । बुहारीलाई सताउनुपर्छ भन्ने कुरा सासुबाट हस्तान्तरण हुने भएकोले हरेक महिलाहरू सासु बन्नासाथ बुहारीलाई सताउन थाल्थे । आखिर जे सिकेको छ त्यही गर्ने त हो नि ।

हाम्रा आमा हजुरआमाहरू आफ्ना बितेका दिनहरू सुनाउँदै भन्नुहुन्छ–‘हाम्रो पालामा बुहारीले मनमा लागेको बोल्न के पाइन्थ्यो र, जस्तो भए पनि सहेर बस्नुपथ्र्यो । बारीमा साथीसँगीसँग मेलापात गर्न जाँदा कुरैकुरामा हाँस्न पनि हुन्थेन । घरकाले थाहा पाए बिजोकै हुन्थ्यो । छोरी–बुहारी हाँस्न हुँदैैन, बोल्न हुँदैन । आइमाई हाँस्यो कि नास्यो भनिन्थ्यो ।’

बिहान ४ बजे उठ्ने । उज्यालो नहुँदै घरभित्र बाहिर लिपपोत गरिसक्नुपथ्र्यो, आँगन बढारिसक्नुपथ्र्यो । सासु उठ्दा बुहारीले घर लिपपोत गर्दै गरेको देखिन भने पोतर्नुले अनुहारमा पोतिदिन्थे । अझ कडा सासु रहेछन् भने भर्खर पोतिएको आलो भित्तोमा बुहारीको मुख जोत्दै कपाल भुत्ल्याइदिन्थे, पोतारीमै मुख चोवलीदिन्थे । लिपपोतको काम सकेपछि ढिकी जाँतोको काम सुरु हुन्थ्यो । त्यसपछि गाईबस्तुलाई कुँडो पकाउने, गोबर फाल्ने काम गर्नुपथ्र्यो । उज्यालो भएपछि घाँस काट्न निस्कनुपथ्र्यो । ससुराले घरमा पाञ्चायन देवताको पूजाआजा गरेपछि शंख फुक्थे । शंखको आवाज कानमा परेको केहीबेरमै घाँसको भारी बोकेर घरमा आइसक्नुपथ्र्यो ।

बुहारीलाई पेटभरि खान दिए मात्छन् भन्दै अड्कलेर खान दिइन्थ्यो । खाना खाएर जुठो चुलो गरेपछि मेलापात जानुपथ्र्यो । मेलापातबाट साँझमा घर फर्कंदा लखतरान भए पनि थाकेँ भनेर बस्ने अवस्था हुँदैनथ्यो । सासु ससुरा तथा पाहुनाका लागि गोडा धुन तातोपानीको व्यवस्था गरिदिनुपथ्र्याे । बेलुकाको खाना खाएर जुठो चुलो गरिसक्दा करिब ११ बजिसकेको हुन्थ्यो । त्यसपछि सासुको गोडा मालिस गर्ने, नन्द–आमाजु छन् भने उनीहरूको पनि गोडा मालिस गर्ने जिम्मेवारी पूरा गरेपछि मात्रै सुत्न जान पाउने अवस्था थियो ।

कडा सासु रहिछे भने त लोग्नेसँग भेट्न पनि मध्यरात पर्खनुपथ्र्यो । लोग्नेसँगको त्यो क्षणिक भेटघाटमा सुखदुःखका कुरा साटासाट गर्न सम्भव हुँदैनथ्यो । गर्भधारणका निम्ति हुने समागमका लागि मात्रै लोग्नेसँग भेटघाट हुन्थ्यो । जसले बुहारीलाई बुहार्तन दिन सक्यो समाजमा उसैको रवाफ ठूलो हुन्थ्यो । अरूले देख्ने गरी श्रीमतीसँग कुराकानी गर्ने लोग्नेले जोइटिंग्रेको उपमा पाउँथे । लोग्नेको मायाको अनुभव सासु नमरेसम्म महिलाले गर्न पाउँदैनथे ।

१०–१२ वर्ष उमेर पुग्नासाथ विवाह गरेर पराई घर पठाउनुपर्ने, पराई घरमा पनि दासीको जस्तो जिन्दगी बिताउनुपर्ने र आफ्ना बाबा–आमासँग कहिल्यै भेटघाट नहुने भएकोले छोरीलाई सन्तानको परिभाषाभित्र राखिँदैनथ्यो । यस्तो अवस्थामा धार्मिक, तथा सामाजिक संस्कार पनि छोरीबाट सम्भव थिएन । छोरा नै चाहिने अवस्था थियो । छोरालाई मात्रै सन्तानका रूपमा गणना गरिन्थ्यो । दर्जनाँै छोरी जन्माए पनि छोरा नजन्माएसम्म हरेक वर्ष गर्भधारण गर्नुपथ्र्यो । सौता बेहोर्नुपथ्र्यो । शिक्षित, सम्पन्न तथा सहरी परिवारमा यतिवेला यो समस्या एकादेशको कथा बनेको होला तर ग्रामीण, विपन्न तथा अशिक्षित परिवारमा यो समस्याले अहिलेसम्म जरो गाडेर बसेको छ ।

बुहारीले भोग्नुपर्ने बुहार्तनलाई एनजिओकर्मीहरूले महिला हिंसाको संज्ञा दिएका छन् । महिला हिसां न्यूनीकरणका लागि धेरै प्रयास भएका छन् । तर, शिक्षित तथा सहरी परिवारमा बाहेक ग्रामीण तथा अशिक्षित समाजमा उल्लेखनीय परिणाम आउन सकिरहेको छैन । कानुनले बालविवाह निषेध गरेको छ । विवाहको उमेर २० वर्ष निर्धारण गरेको छ । कानुनको यो प्रावधानविरुद्ध बाँके जिल्लाका महिलाहरूले सुरु गरेको आन्दोलनमा न त राज्यको ध्यान पुगेको देखिन्छ, न त महिला अधिकार कर्मीको ।

ग्रामीण समाजमा आज पनि छोरीबुहारी चुलोचौकोकै भूमिकामा बाँधिएको अवस्था रहेको ज्वलन्त उदाहरण हो यो । जबसम्म महिलाले आफैँ कमाइ गर्न सक्दैनन् अर्थात् आफ्नो कमाइमा आफ्नै अधिकार हुँदैन तबसम्म स्वतन्त्रता सम्भव छैन । यदि, छोरीलाई पढाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाएपछि मात्रै विवाह गरिदिने हो भने छोराको आवश्यकता पर्दैन । छोरीले पनि पैतृक विरासत धान्न सक्छन् । पैतृकको अर्थ पुख्र्यौली भन्न खोजिएको हो ।

उदाहरणका लागि महात्मा गान्धीका सातजना छोरा थिए, जवाहरलाल नेहरूकी एउटी मात्रै छोरी थिइन् तर बाबुको विरासत गान्धीका छोराहरूले धान्न सकेनन्, नेहरूकी छोरी इन्दिरा गान्धीले गज्जबले विरासत धानिन् । नेपालकै सन्दर्भमा भन्नुपर्दा बिपी कोइरालाका तीनवटा छोरालेभन्दा गिरिजाप्रसाद कोइरालाकी एक्ली छोरी सुजाताले पैतृक विरासत धानिरहेकी छिन् । उनले विराटनगरको कोइराला निवासमा गज्जबको विल्डिङ बनाएर आफ्ना बाबुको नामको जिपी कोइराला फाउन्डेसन सञ्चालन गरिरहेकी छिन् तर बिपीका तीनवटै छोराहरूले विराटनगरसँगको त्यो पैतृक सम्बन्ध पातलो बनाउँदै लगेका छन् ।

यतिवेला हामीले विदेशी महिला इन्दिरा गान्धी, क्लारा जेट्किन, बेनजिर भुट्टोले यसो गरे भन्नुभन्दा पनि हाम्रो योगमाया, दिव्या, शैलजा, सुजाताले यसो गरेका थिए भनेर भन्न सक्यौँ भने त्यो समाज रूपान्तरणको खुट्किलो बन्न सक्छ । नेपाली महिलाले आज पनि धर्म, संस्कृति, परम्पराका नाममा पुरुषवाद सहन बाध्य छन् । यी सबै विभेदी परम्पराका रचनाकार पितृसत्ता हो ।

यसको अन्त्यका लागि महिला–पुरुष सबैको भूमिका आवश्यक छ । समाजको सदियौँदेखिको कुसंस्कार र कुरीतिको जालो तोड्ने हतियार भनेकै शिक्षा हो । भानुभक्तका पालामा बुहारी हाँस्नु हुँदैनथ्यो होला तर जीवनमा हाँसो, खुसी सबैको अधिकार हो । अहिले पनि कतिपय बुहारी हाँस्न पाउने अधिकारबाट वञ्चित छन् । यो पाटोतर्फ प्रत्येकको ध्यान पुगोस् ।

-सौर्य अनलाइन

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu