बागलुङको तुरतुरे ताल फुट्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार

बागलुङ । गतवर्ष पहिरोले खोला थुनिँदा बनेको तुरतुरे तालको केही भाग फुट्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

अबिरल वर्षाका कारण बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको ताल शनिबार राति फुटेको छ । ताल फुटेपछि तालमा रहेको पानीको सतह करिब ५० प्रतिशत घटेको छ ।

तुरतुरेताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछी त्यस तलका तटिय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार क्षेत्रमा स्थानीयबासी केहि आतंकित बनेका थिए ।

तालको पानी घट्ने क्रम रहेकाले आतंकित हुनुपर्ने अवस्था नरहेको भएपनि सबै तटिय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था भने रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

ताल फुटेर पानी बिस्तारै बगेकाले त्यस्तो कुनै समस्या नदेखिएको प्रजिअ क्षेत्रीको भनाई छ । अहिलेसम्म खोलाको बहावले कतै कुनै क्षति नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

ताल तलको करिव २ सय मिटर सडक बगाएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्ड अन्तरगत बडिगाड गाउँपालिकाको खारबजार नजिकैको सडक बडिगाड खोलाले बगाएको हो । सडक बगेको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरोध भएको प्रजिअ क्षेत्रीले जनाए ।

सडकको अवस्था बुझ्न र सुचारूको विकल्पको लागि लोकमार्गका इन्जिनियरसंग सहकार्य भएको उनले जानकारी दिए । लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको छ ।

घटनास्थल पुगेका बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अवरुद्ध भएपनि अरु नोक्सान नभएको जानकारी दिए । रातिदेखि नै प्रहरी टोलीले तटीय बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको थियो । अहिले जोखिम कम भएपनि नदि नजिक नजान अध्यक्ष पाइजाले स्थानीयलाई अनुरोध गरेका छन ।

सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन् ।

-राजधानी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu