प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाँके जिल्लामा मा २५ सय ९५ लाई रोजगारी

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार

बाँके-प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तगर्त बाँकेमा ३० हजार दिन रोजगारी प्रदान गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याँकअनुसार जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालित कार्यक्रमबाट ३० हजार ३ सय ८ दिनको रोजगारी दिएको मन्त्रालयले दाबी गरेको छ ।

गत आवको अन्तिममा सञ्चालित कार्यक्रमबाट बाँकेमा कुल ७४ आयोजनामा २ हजार ५ सय ९५ जनाले रोजगारी पाएको सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार जानकी गाउँपालिकाले विभिन्न ८ आयोजनामा १ सय ५० जनालाई रोजगारी दिएको छ । औसत १४ दिन बराबर रोजागरी दिएको उक्त गाउँपालिकामा कुल २ हजार १ सय दिन रोजगारी पाएको बताइएको छ । त्यस्तै खजुरा गाउँपालिकाले विभिन्न १२ आयोजनामा २ सय १२ जनालाई रोजगारी दिएको छ । औसत १४ दिन बराबर रोजागरी दिएको उक्त गाउँपालिकामा कुल २ हजार ९ सय ६८ दिन रोजगारी पाएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी जिल्लाको कोहलपुर नगरपालिकाले ३६ आयोजनामा १ हजार ५ सय २५ जनालाई रोजगारी दिएको छ । औसत १० दिन बराबर रोजगारी दिएको उक्त गाउँपालिकामा कुल १४ हजार ८४५ दिन रोजगारी पाएको जनाएको छ । यस्तै नरैनापुर गाउँपालिकाले विभिन्न ६ आयोजनामा २ सय ९४ जनालाई रोजगारी दिएको छ । औसत १४ दिन बराबर रोजगारी दिएको उक्त गाउँपालिकामा कुल ४ हजार १ सय १६ दिन रोजगारी पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिकाले ९ आयोजनामा ३ सय ५१ जनालाई रोजगारी दिएको छ । औसत १५ दिन बराबर रोजागरी दिएको उक्त गाउँपालिकामा कुल ५ हजार २ सय ५६ दिन रोजगारी दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा कार्यक्रम सञ्चालन गरेको नेपालगन्ज उपमहानगरपालिकाले भने ३ आयोजनामा ६३ जनालाई रोजगारी प्रदान गरेको छ । औसत १६ दिन बराबर रोजगारी दिएको महानगरपालिकामा कुल १ हजार २३ दिन रोजगारी पाएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा तथ्याँक नबुझाएका कारण वैजनाथ र डुडुवा गाउँपालिकाको विवरण भने समावेस गरिएको छैन । कार्यक्रमअन्तर्गत बेरोजगार व्यक्तिलाई वर्षभरि नै कम्तीमा सय दिनको रोजगारी दिने भनिए पनि गत आर्थिक वर्षमा १ महिनाका लागि मात्रै यो कार्यक्रम लागू गरिएको थियो ।

कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा करिब १० लाख रुपैयाँमात्र पुँजीगत बजेट खर्च भएको छ । गत आर्थिक वर्षमा नेपालगन्जलाई प्राप्त १ करोड बजेटमध्ये करिब ९० लाख रुपैयाँ फ्रिज भएको हो । कार्यक्रम ढिलो आउनु, कामका लागि श्रमिकहरू नआउनु, कार्यविधिका कारणले खर्च गर्न समस्या भएको नेपालगन्ज उपमहानगरका रोजगार संयोजक हरिबोल भट्टराईले बताए । फारम भर्दा वास्तविक श्रमिकको आवेदन नआएका कारण पनि कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ ।

त्यस्तै खजुरा गाउँपालिकाले २६ लाख रुपैयाँ खर्च गर्न नसकेको जनाएको छ । गाउँपालिकालाई प्राप्त ४७ लाख मध्य २१ लाख रुपैयाँमात्र खर्च भएको हो । त्यसैगरी जानकी गाउँपालिकाले पनि २१ लाख बजेटमध्ये १७ लाख रुपैयाँमात्र खर्च गरेको छ । बेरोजगारलाई रोजगारी उपलब्ध गराउने भन्दै घोषणा गरिएको उक्त कार्यक्रमअन्तर्गत गत चैत महिनाबाट सबै स्थानीय तहमा बेरोजगारको निवेदन लिने काम सुरु भएको थियो । बेरोजगारलाई रोजगार दिने भन्दै कार्यक्रम सञ्चालन गरिए पनि उपलब्धिविहीन कार्यमा खर्च भएको भन्दै सरकारको आलोचना भएको थियो ।
-कारोबार

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu