छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्य

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार

विराटनगर । १ नम्बर प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङमा २, खोटाङमा १ र झापामा १ जनाको मृत्यु भएको हो। मोरङ धनपालथान गाउँपालिका–७ मुस्लिमटोल बस्ने १५ महिनाका नाबालक शिव कुमार यादव पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

मृतकका बाबु सुवर्णकुमार यादव र आमाले बच्चालाई सासुआमालाई हेर्न भनि खेतमा काम गर्न गएका थिए। तर, खेतबाट फर्किदा छोरो नदेखेपछि खोजतलास गर्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ वर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी सोमबार बिहान करिब ११ बजे घर नजिकै रहेको फलैँचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडी कुलोमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै झापा कन्काई नगरपालिका सेल्फीडाँडा–२ का १९ बर्षीय सोम किस्कुको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लागेको थियो। किस्कुको बिहान १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, खोटाङको पिलासगढी गाउँपालिका– १ फेदिका ४९ वर्षीया भई माया राई मृत अवस्थामा फेला परेकी छन्।

उनी साउन ८ गतेदेखि बेपत्ता भएकी थिइन्। राईको निजको श्रीमान डम्बर गुरुङसहित स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १ बजे भोजपुर ट्याम्के मयुँम गाउँपालिका– २ छिनामखुको धोत्रेको पाटीडाँडामा उनको शब फेला परेको प्रहरीले जनाएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu