नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार

नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।

?

उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिनुभयो । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उहाँले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गर्नुभयो । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ ।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu