ओली र प्रचण्ड अब हिटलरी शैलीमा अघि बढ्न सक्छन, मुलुक बिघटन हुने सम्भावना : जागृत रायमाझी

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार

भोजपुरमा प्रहरी जवान सञ्जिव राईसहित विप्लव समूहका नेता निरकुमार राई मारिएपछि राष्ट्रिय राजनीति थप पेचिलो बनेको छ भने मुलुक थप द्वन्द्वतर्फ जाने खतरा बढेको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको घटनाले संसद तातिरहेका बेला भोजपुरमा एकपछि अर्को घटना हुनुले मुलुक गम्भीर द्वन्द्वमा जाने संकेत देखिएको हो । एक महिनाअघि विप्लव कार्यकर्ता तीर्थ घिमिरे भोजपुरमै प्रहरी कारवाहीमा मारिएका थिए ।

युवा राजनीतिकर्मी जागृत रायमाझी भन्छन्, ‘सरकार युद्ध चाहन्छ । यो विप्लवका लागि युद्ध गर्न निम्तो पठाइएको हो । जसरी हुन्छ विप्लवलाई बिच्काउने र युद्धका लागि उक्साउने उसको रणनीति छ । सरकार बन्दुकबाटै विप्लवलाई सिध्याउन चाहन्छ । यो असम्भव कुरा हो तर विश्व साम्राज्यवादको गोटी बनेको यो सरकारलाई गर्नैपर्ने बाध्यता पनि छ । ’

रायमाझीका अनुसार नेपालमा कम्युनिष्ट आन्दोलन फस्टाइरहेकाबेला विश्व साम्राज्यवादको चपेटामा यहाँका दल र नेताहरु परेका छन् । त्यसमा पनि अहिलेको सरकारमा नेकपा पार्टी छ । प्रचण्डले क्रान्तिको नाममा ठगठाग गरे । उनले अर्धक्रान्ति गरे, पूर्ण क्रान्ति गर्न सकेनन् । ओली पनि विदेशीको पूर्ण प्रभावमा छन् ।

यो बेला अलिकति क्रान्तिकारी कम्युनिष्ट भनेर उदाइरहेको विप्लव समूहलाई सिध्याउन ओली, प्रचण्ड र बादल समूह प्रयोग भएको छ ।

प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मुलुक समृद्ध होइन स्वाहा हुने दिशामा छ । यो सरकार र नेकपासंग राजनीतिक दृष्टिकोणकासाथै मुलुक र जनताका लागि गर्नुपर्छ भन्ने भित्रि चाहना र प्रतिबद्धतासमेत छैन । यीनीहरुकै कारण मुलुकमा सम्भावित तीनवटा खतरा उत्पन्न भएका छन् :

क ) निरंकुशता : ओली र प्रचण्ड अब हिटलरी शैलीमा अघि बढ्न सक्छन् ।
ख ) असफल देश : मुलुक बिघटन हुने सम्भावना
ग ) पुरातनवादीको उदय : राजसंस्थाको उदय

जहाँसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको कुरा छ यो कुनै पनि हालतमा पनि प्रचण्डले भने जस्तो राजनीतिक मुल प्रवाहमा आउँदैन । जुन बैज्ञानिक समाजवादको लक्ष्य उनीहरुले लिएका छन्, त्यो नै उनीहरुको मूल प्रवाह हो । संसदीय व्यवस्थालाई मूल प्रवाह मानेर खान पल्केकाहरुको जमातमा विप्लवहरु मिसिने सम्भावना नरहेको रायमाझीको तर्क छ ।

रायमाझी भन्छन्, ‘विप्लवसँगको केही कालको संगतका आधारमा म दावीका साथ भन्छु, उनीहरुले व्यक्ति हत्याको नीति लिनै सक्दैनन् । सुुरक्षा निकायमाथि आक्रमण गर्ने नीति पनि उनीहरुको छैन । निकै जिम्मेवारीपूर्वक म भन्न सक्छु उनीहरु हिंसाको बाटोमा छैनन्, तर सरकारले एकतर्फी हिंसा मच्चाएर उनीहरुलाई उक्साउन चाहिं खोजिरहेको छ । ’

विप्लवसंग मोहन वैद्य, सीपी गजुरेल, परी थापा, गोपाल किराँती, ऋषि कट्टेल लगायतको एकता हुने सुनिएको छ, त्यसो भयो भने त्यो राम्रै हुन्छ । तर, विप्लवले अघोषित युद्धको कार्यनीति त्याग्नुपर्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu