पहिरोले बुढीग‌ंगा थुन्यो, सचेत हुन स्थानीयलाई आग्रह

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

बाजुरा-पहिरोले बुढिगंगा नदी थुनिएपछि सचेत रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुराको सबैभन्दा ठूलो नदी थुनिएपछि सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अिधकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोले नदी थुनिएको छ ।

पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ । यो जानकारी गृहमन्त्रालयलाई गराइसकिएको पनि न्यौपानेले बताए ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्।

थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीयमा त्रास बढेको छ । नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो। पैमाबाट दसकयता पहिरो बग्ने गरेको छ। पहिरो झर्ने मात्रा बढेपछि नदी थुनिन पुगेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताए। वर्षा नरोकिएपछि पहिरो बग्ने क्रम बढेको उनले बताए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu