प्रधानमन्त्री ओली विरुद्ध दाहाल र नेपालको नयाँ रणनीति यस्तो बन्यो, गम्भीर संकटमा नेकपा (भिडियो)

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध उनकै दल नेकपाको नेतृत्व तहमा फरक ध्रुवीकरण सुरु भएको छ । सरकार गठनको १६ र पार्टी एकताको १३ महिनासम्म पनि सन्तोषजनक काम गर्न नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीविरुद्ध नयाँ रणनीति बनाउँदै छन् ।

सरकारको गति र पार्टी समायोजनमा प्रधानमन्त्री ओलीले गरिरहेको ढिलासुस्तीप्रति असन्तुष्ट अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच गत सोमबार दुई घण्टा छलफल भयो । बाहिर सरकारको कार्यशैली र पार्टी समायोजनका बाँकी काममा कुरा भएको भनिए पनि भेटघाट शक्ति बाँडफाँटमा सहकार्य गर्नेमा केन्द्रित रहेको थियो । दुइ नेताबीचको निरन्तर उठबस र नौ सदस्यीय सचिवालयमा दाहाल र नेपालको टिम एक ठाउँमा उभिँदा ओली अल्पमतमा मात्र हैन, पार्टीमा कमजोर अवस्थामा पुगेका छन् । पार्टी र सरकारमा एकलौटी गरेको भन्दै दाहाल–नेपाल खेमाले कमजोरीको सबै दोष ओलीतिरै तेर्स्याइरहेको छ ।

पार्टी र सरकारमा प्रधानमन्त्रीले अपेक्षित परिणाम देखाउन नसकेकोमा नेकपाको कार्यकर्ता पंक्ति पनि असन्तुष्ट छ । तर फरक त्यत्ति हो, असफलताको जिम्मेवारी नेतृत्वलाई मात्रै बोकाउन हुन्न भन्नेहरु पनि छन् ।

सरकार दुइ तिहाइ नजिक भएर पनि काम गर्न नसकेको, एकपछि अर्को विवादमा फसेको, पार्टीलाई अनिर्णित बनाएको विरोधी खेमाको आरोप छ । संसदमा समेत दाहाल र नेपाल पक्षीय सांसदहरू सरकारका गतिविधिलाइ लिएर चर्को आलोचनामा उत्रिएका छन् । यी परिदृश्यले ओलीका निम्ति नेकपाभित्रै प्रतिकूल वातावरण विकसित भइरहेको संकेत गर्छ ।

जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रै चर्को आलोचना खेप्दै आएको नेकपा नेतृत्वलाई मन्त्रिपरिषद हेरफेर गर्न दबाब बढेको छ । सरकारका कामको गति बढाउन बहालवाला मन्त्रीहरूको समीक्षा गरी दण्ड र प्रोत्साहनको निर्णय गर्नुपर्ने आवाज नेकपामा उठेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १६ महिना भैसक्दा पनि कामको लय समाउन नसकेको भन्दै नेकपाभित्र चर्को असन्तुष्टि छ । त्यसमाथि सरकारका निर्णय एकपछि अर्को गर्दै विवादमा परेपछि मन्त्रिपरिषद हेरफेर गरेर भए पनि सरकारलाई नयाँ ढंगले अघि बढाउन नेकपाकै नेताहरुले सुझाव दिएका छन् । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले धेरैपटक मन्त्रिपरिषद फेरबदल हुने बताइसकेका छन् । तर प्रधानमन्त्री ओली तत्काल मन्त्रिपरिषद हेरफेर गर्ने पक्षमा छैनन् ।

मन्त्री फेरिँदा पार्टीभित्र शक्ति सन्तुलन पनि आफ्नो प्रतिकूल हुन सक्ने ‌‌‌ओली पक्षको बुझाइ छ। उनको कार्यशैलीप्रति असन्तुष्ट पक्षले भने पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई फराकिलो बनाउनुपर्ने र कामको अाधारमा मन्त्रीहरूको मूल्यांकन समेत हुनुपर्ने माग गरेको छ। त्यसो त दुई अध्यक्ष दुइतिर हुँदा पार्टीभित्रै जिम्मेवारी बाँडफाँट र मार्गदर्शक सिद्धान्तबारे विवाद पनि मिल्न सकेको छैन । पार्टीभित्रको विवाद र मन्त्रिपरिषद् हेरफेरको दबाब कहाँ गएर टुंगिन्छ, अहिल्यै निष्कर्षमा पुग्न भने मुस्किल छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu