पार्टी एकताप्रति असन्तुष्ट ईश्वर पोखरेलकाे यस्ताे रै’छ दाउ

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

साबिक एमाले र माओवादी एकीकरणपछि धेरै नेताका जिम्मेवारीहरू खुम्चिए । कतिका पूर्वपदहरू खारेजीमा परे।

त्यस्तै, मारमा पर्नेमध्येका शीर्ष नेता हुन्– ईश्वर पोखरेल । तत्कालीन एमालेका निर्वाचित महासचिव रहेका पोखरेल एकतापछि सचिवालय सदस्य मात्रै रहे।

पूर्वसंगठनमा उनीभन्दा तल्लो वरियतामा रहेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव बने। त्यसयता पोखरेलले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा ‘विवादास्पद अभिव्यक्ति’ दिँदै आएका छन्।

यसलाई ‘पोखरेलले महसुस गरेको असुरक्षा’का रूपमा विश्लेषण गरिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

पोखरेलले निरन्तर दिँदै आएका अभिव्यक्तिलाई राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले एकीकरणपछि असुरक्षित महसुस गरिरहेका पूर्वएमाले समूहका नेता–कार्यकर्ताको ‘सेन्टिमेन्ट क्यास’ गर्ने प्रयासका रूपमा अथ्र्याउँछन्।

‘एकीकरणपछि पूर्वएमालेमा माथिदेखि तलसम्मका धेरै नेता–कार्यकर्ताले पूर्वमाओवादी नेताहरू भाग खोस्न पो आएका हुन् कि भन्ने मनोदशामा हुन सक्छन्,’ प्रा.पोखरेलले भने, ‘सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म हेर्दा अहिले ती सबै ‘सेन्टिमेन्ट क्यास’ गर्दै पोखरेल नेता बन्ने प्रयासमा छन् कि भनी अर्थ लगाउन सकिन्छ।’

अभिव्यक्तिकै कारण उनी नेकपा वृत्तमा चर्चा र आलोचनाको विषय पनि बनेका छन् । पार्टी शीर्ष नेता मात्र होइन, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा दोस्रो वरीयताका सारथी रहेकाले उनका यस्ता अभिव्यक्तिमाथि केन्द्रीय सचिवालय बैठकमा पनि चर्चा हुने गरेको एकजना नेताले बताए।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का वान–अन–वान भेटघाटमा समेत पोखरेलका कतिपय अभिव्यक्ति छलफलको विषय बन्ने गरेको स्रोत बताउँछ ।

अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखे, ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइँनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु(याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । आज नेकपा ९एमाले० र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही बाटो हिँड्नुपर्छ।’

अध्यक्ष प्रचण्डले भेनेजुयला प्रकरणमा जारी गरेको वक्तव्यलगत्तै सत्तारुढ नेकपा पंक्ति मात्र होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेका वेला उनले यस्तो असन्तुष्टि पोखेका थिए । राजनीतिक विश्लेषकहरू पनि पोखरेलले अध्यक्ष प्रचण्डको नेतृत्वलाई अस्वीकार गरेको अथ्र्याउँदै आएका छन्।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोस सम्मेलनमा सहभागी भएका वेला आएको प्रचण्डको त्यो वक्तव्यपछि अमेरिकासँगको कुटनीतिक सम्बन्ध सन्तुलित बनाइराख्न भन्दै प्रधानमन्त्री ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयले बैठकले औपचारिक वक्तव्य सार्वजनिक गरेको थियो।

दुई अध्यक्षात्मक प्रणालीको विपक्षमा

केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच दुई अध्यक्षात्मक प्रणालीमा जाने गरी पार्टी एकीकरण गर्ने सहमति हुने संकेत पाएपछि पोखरेलले विरोध जनाएका थिए।

एकतासम्बन्धी छलफलका समझदारीबारे पोखरेलसहित तत्कालीन एमालेका धेरै नेता जानकार थिएनन् । पोखरेलले भने त्यस्तो समझदारीबाट बहुकेन्द्र जन्मिने भन्दै एकीकरणको सहमतिअघि नै विरोध जनाएका थिए।

पार्टी एकतापछि उनी नेतृत्वमा एउटै केन्द्र हुनुपर्ने तथा सरकारको नेतृत्व आलोपालो हुन नहुने अडानमा छन् । अर्का नेता वामदेव गौतमले दुईमध्ये एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी सञ्चालन गर्नुपर्ने राजनीतिक दस्तावेज पेस गरेपछि झन् आक्रामक बनेका उनले अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एउटै हुनुपर्ने अडान राख्दै आएका छन्।

छुट्टाछुट्टै पार्टीबीच सत्तासमीकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै पोखरेलले त्यस्तो बहसले अस्थिरता निम्त्याउने तर्क गर्दै आएका छन्।

पूर्वमाओवादीप्रति आक्रामक अभिव्यक्ति

एकतापछि ओलीलाई मात्र एकल अध्यक्ष बनाउनुपर्ने पक्षमा तर्क गरे पनि पूर्वएमालेभित्रैका धेरै नेताले उनका अभिव्यक्तिको बैठकहरूमै विरोध जनाए।

सामाजिक सञ्जालमा वेला–वेला पूर्वमाओवादी लक्षित अभिव्यक्ति दिँदै आएका पोखरेलले एकतापछि जनयुद्ध दिवस मनाउने दुई अध्यक्षको निर्णयको विपक्षमा लबिङ नै गरेका थिए।

स्रोतका अनुसार पार्टीमा छलफलै नभएको र पूर्वएमालेले जनयुद्ध स्वीकार नगरेकाले दिवस मनाउन नहुने भन्दै उनले आफूनिकट थुप्रै नेता–कार्यकर्तालाई टेलिफोन गरेर सहभागी नहुन निर्देशन गरेका थिए।

उनी स्वयं पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएनन् । सुर्खेतमा रहेका माधव नेपालनिकट नेता योगेश भट्टराईलाई टेलिफोन गरेर उनले भनेका थिए– जनयुद्ध दिवस मनाउने निर्णय गरेर ठूलो ब्लन्डर भो, पार्टी लगेर बुझाइदिए भयो । अध्यक्षको यस्तो निर्णयलाई कसरी मान्न सकिन्छ?

‘यसबाट एकतापछि माओवादीविरोधी सेन्टिमेन्ट क्यास गर्न सकिन्छ कि भन्ने उहाँको चाहना देखिन्छ, ती केन्द्रीय सदस्य भन्छन्, ‘एकताले पूर्णता नपाइसकेको र कार्यविभाजन नभइसकेकाले अहिलेसम्म को कता परिन्छ भनेर धेरैले मुख खोलेका छैनन्, तर उहाँ चाहिँ अहिल्यैदेखि त्यो समूहको नेतृत्व गर्ने जमिनको खोजीमा देखिनुहुन्छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu