आठौं राष्ट्रिय खेलकुदमा गौरिकाको अर्काे राष्ट्रिय कीर्तिमान

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

नेपालगन्ज। ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी पौडीबाज गौरिका सिंहले आठौं अन्तर राष्ट्रिय पौडी च्याम्पियन अर्काे कीर्तिमान बनाएकी छन् ।

नेपालगन्जस्थित सिग्नेट होटेलको पौडी पोखरीमा सोमबार भएको महिला सय मिटर फ्रिस्टाइलमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । उनले ५९ दशमलव ६० सेकेन्डको समय निकालिन् । यसअघि उनको नाममा ५९ दशमलव ९१ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

यो विधामा आर्मीकी सोफिया शाहले १ मिनेट २ दशमलव ५९ सेकेन्डको समय निकालिन् । एपीएफकी टिसा शाक्यले १ मिनेट ३ दशमलव ५६ सेकेन्डको समय निकालिन् ।

आर्मीकी गौरिकाले महिला ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ४४ दशमलव ८१ सेकेन्डको साथ स्वर्ण जितिन् । आर्मीकै दुवाना लामाले ४ मिनेट ५० दशमलव ४७ सेकेन्डका साथ रजत तथा एपीएफकी टिसा शाक्यले ५ मिनेट १२ दशमलव शून्य ४ सेकेन्डका साथ कांस्य हात पारिन् । यही विधाको पुरुषमा एनआरएनएका नाथन दोर्जी शेर्पाले ४ मिनेट ३३ दशमलव शून्य ९ सेकेन्डका साथ स्वर्ण जिते । एपीएफका नासिर हुसेनले रजत तथा एपीएफकै उर्गेन महर्जनले कांस्य जित्न सफल भए ।

पुरुष सय मिटर फ्री स्टाइलमा आर्मीकै एलेक्स शाहले हिट्समा ५५ दशमलव ३८ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । फाइनल स्पर्धामा भने एलेक्सले ५५ दशमलव ६३ को समय निकाले । पुलिसका सायद हम्जा शाहले ५५ दशमलव ९४ सेकेन्डको तथा आर्मीका अनभव सुब्बाले ५७ दशमलव ३० सेकेन्डको समय निकाले । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले २ मिनेट ५५ दशमलव शून्य ९ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । आर्मीकै उपस्थी महर्जनले ३ मिनेट शून्य दशमलव ५३ सेकेन्डका साथ रजत तथा पुलिसकी अदिप्सा वैद्यले ३ मिनेट ३ दशमलव ६२ सेकेन्डका साथ कांस्य जितिन् । पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण, पुलिसका दिपांकर अवालेले रजत तथा प्रदेश १ का बिकास कुमालले कांस्य जिते ।

महिला ५० मिटर बटरफ्लाईमा आर्मीकी सोफिया शाहले स्वर्ण जितिन् । पुलिसकी अुनसिया तन्डुकारले रजत तथा एपीएफकी श्रीवी महर्जनले कांस्य हात पारिन् । पुरुष ५० मिटर बटरफ्लाईमा पुलिसका सायद हम्जा शाहले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले हिटमा २७ दशमलव १० सेकेन्डको तथा फाइनल राउन्डमो २७ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । आर्मीका अनुभव सुब्बाले २७ दशमलव २२ सेकेन्डका साथ रजत तथा एपीएफका तेन्जिङ नाम्डोल रायन गुरुङले २९ दशमलव ६२ सेकेन्डको समय निकाल्दै कांस्य हात पारे ।

-राजधानी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu