एथलेटिक्समा पदक जित्ने दाजुभाइ र दम्पत्ति

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार

पति पत्नि र सहोदर दाजुभाईले आठौं राष्ट्रिय खेलकुदमा पुरस्कार थापेको दृष्यले धेरैको ध्यान केन्द्रित गर्‍यो। तालीले उनीहरुको भव्य स्वागत भयो। दाङस्थित वेलझुण्डी रंगशालामा एथ्लेटिक्स प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दा आइतबार बिहानको दृष्य थियो त्यो।

पति पत्नि दुवै सशस्त्र प्रहरीको विभागीय टिमबाट मेडलका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। पतिले एउटा गोल्ड मेडल थाप्दा श्रीमतीले दुई वटा गोल्डमेडल र अर्को एउटा रजत पदक थापिन्।

अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रेम विवाहमा बाँधिएको थियो यो जोडी। नवलपरासीका निरप्रताप महतो र बाँकेकी शीला चौधरीको जोडीले पुरसकार थाप्दा धेरैको ध्यान केन्द्रीत गर्‍यो।

पति पत्निले एकसाथ मेडल प्राप्त गर्दा उनीहरू औधी खुसी थिए। दुवैले एकसाथ भने, ‘हाम्रो पेशा र खेल यात्रा अनन्तसम्म रहनेछ।’

सशस्त्र प्रहरीकै विभागीय टिम अन्तर्गत शिलाले महिला हाइजम्प र ट्रिपलजम्पमा गरी दुई वटा गोल्डमेडल जितेकी हुन्। अनि लङजम्पमा पनि दोस्रो भइन्। त्यतिबेला उनलाई बधाई दिन सबैभन्दा पहिले पुगेका थिए उनकै जिवनसाथी निरप्रताप महतो।

महतोले पनि २ सय मीटर दौडमा गोल्ड मेडल प्राप्त गरिसकेका थिए।

पुरस्कार थाप्दै यो जोडीले एकले अर्कालाई बधाई दिए। चम्किलो अनुहारमा सञ्चारकर्मीसामू प्रस्तुत भएको महतोको जोडीले भविस्यमा झनै राम्रो गेम खेलेर राष्ट्रलाई चिनाउने इच्छा राखे।

उनीहरू बिच जागिरे जीवनकै क्रममा खेल खेल्ले क्रममै आत्मीयता गाँसिएको रहेछ। मुस्काउँदै महतोले भने, ‘उनलाई ट्रिपलजम्प सिकाउँदै थिएँ, त्यही बेला प्रपोज गरेँ, अनि हाम्रो विवाह भयो।’ शिलाले पनि त्यति बेला महातोको प्रस्तावलाई सहजै स्वीकार गरेपछि कुनै द्विविधा रहेन।

महतोको जोडीले हालसम्म सन्तान भने जन्माएका छैनन्। ‘अर्को एउटा राम्रो गेम खेलेर राम्रो सफलता हात पारेपछि बच्चा जन्माउने निर्णय गरेका छौं,’ अतिकति लजाउँदै शिलाले भनिन् ।

बच्चा जन्माउने सवलामा महतो दम्पत्तिलाई परिवारका सदस्यले पनि दबाब दिएका छैनन्। ‘सायद उहाँहरुले खेलाडीको मर्म बुझ्नुभएको छ, हाम्रो चाहना र उद्धेश्य बुझ्नुभएको छ,’ शिलाले थपिन, ‘परिवारका सदस्यले हाम्रो खेलमा अझै प्रगति चाहनुभएको छ।’

जागिरका क्रममा राजधानीमै रहेका उनीहरूले कोठा भाडामा लिएर बस्दै आएका छन्। ‘दुवैको कमाइबाट खर्च टर्छ। केही बचत पनि हुन्छ। बचेको पैंसा हामी घर पठाउँछौं,’ महतोको जोडीले भन्यो।

प्राक्टिस मेक्स मेन पर्फेक्ट भन्ने मान्नेतलाई आत्मसाथ गर्दै दिनहुँ आफूहरूले अभ्यास गर्दै आएको शिलाले बताइन्। ‘सायद एसियन गेममा खेलेपछि हामीले बच्चा जन्माउने छौं’, शिलाले भनिन्।

विवाह पछि खेल खेल्न सकिँदैन भन्ने मान्यता आफूले चिर्न सफल भएकोमा शिलाले गर्व गरिन्।बेलझण्डी रंगशालामा आइतबार अर्को एउटा यस्तै पुरुस्कार थाप्ने जोडी भेटियो। यो जोडी भने सहोदर दाजु भाइको थियो।

दुवैका घाँटीमा एक/एक थान गोल्ड मेडल थिए। उनीहरू पनि सशस्त्र प्रहरीकै विभागीय टिमका सदस्य हुन्।

धनगढी घर भएका दाजु गोपिचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर दौडमा गोल्डमेडल जितेका हुन् भने भाइ शिवराज पार्कीले रिले दौडमा गोल्ड मेडल जिते।

मेडल जितेका पति पत्नि र दाजु भाई धेरै सर्वसाधारण र खेलाडीका रोल मोडल जस्ता बनेका थिए।

यो दुई भाइको जोडी खेल क्षेत्रमा सानैदेखि लागेको रहेछ। दाजुले अघिल्लो प्रतियोगितामा पदक जितेपछि आफू पनि आकर्षित भएको भाइले बताए।

शिवराजको ४ महिना अगाडि मात्रै विहे भएको रहेछ। तर, उनका दाजु भने अझैं अविवाहित रहेछन्। ‘यो सबै खेल प्रतिको डेडिकेसन हो,’ गोपिले भने, ‘विहेवारी सन् २०२० को ओलम्मिक पछि मात्र।’

विहेले खेलमा धक्का लाग्न सक्छ भनेर अवको एउटा खेललाई बिहे नगर्दै खेल्ने उनले धारणा व्यक्त गरे। यो दादुभाईको जोडी पनि खेल अभ्यास सँगसँगै गर्दा रहेछन्।

खेलमा एक अर्कालाई प्रशिक्षकको भूमिका निर्वाह गर्ने गरेको उनीहरुले बताए। शिवराज भने, ‘दाजुको खेलप्रतिको चाहना र सफलताले मलाई पनि खेलमा डोहोर्‍यायो। हामी प्राय सँगै अभ्यास गछौं। यो पटक त संयोगले एकै ठाउँमा एथ्लेटिक्स खेल्ने मौका पनि मिल्यो।’

दुवै दाजु भाइले एकै दिन मेडल जित्दा उनीहरुको खुसीको सीमा नै थिएन।

-सेतो पाटी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu