राष्ट्रिय गौरवको भेरी–बबई, प्रधानमन्त्रीद्धारा आज ‘ब्रेक–थ्रु’

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार

काठमाडौ, ३ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको आज ब्रेक थ्रुू गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ ।

चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकेको हो । विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन टीबीएम मार्फत निर्माण गरिएको सुरुङको आज प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रू गर्ने कार्यक्रम छ ।

सुरुङको ब्रेक–थ्रूका लागि कूल १२ किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकी राखिएको छ । प्रधानमन्त्रीबाट मेसिनको स्वीच दबाएर ‘ब्रेक थ्रू’ गरिने बताइएको छ ।

सुरुङ्ग निर्माणका लागि २०७४ कात्तिक २० गते बबईबाट छिराइएको मेसिन झण्डै १८ महिनापछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा निस्किदै छ । सम्झौताअनुसार आउँदो वर्षको २०७६ चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । तर, नेपालमै पहिलो पटक प्रयोगमा आएको टीविएम मेसिनद्धारा सुरुङ्ग निर्माण गरिएकाले निर्माण कम्पनीले सम्झौता मिति भन्दा करिब एक वर्ष अगाबै काम सकेको छ ।

सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ ।

सुरुङ्ग निर्माणको काम सकिएलगतै भेरीमा बाँध बाँध्ने र बबईमा विद्युत् उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु गरिने छ । चालु आर्थिक वर्षमै निर्माण कम्पनीले आवश्यक काम अगाडी बढाउने छ ।

-चक्रपथ

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu