कालीगण्डकीमा पुल निर्माण शुरु

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार

कावासोती, २४ चैत : नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

-(सांकेतिक तस्बिर)
नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् । जिल्ला सदरमुकाम कावासोती दूरीले टाढा पर्ने भएकाले यहाँका बासिन्दा किनमेल तथा औषधोपचार लगायतका कामका लागि तनहुँ र पोखरा जानुपर्दा नदीमा पुल नबन्दा धेरै समस्या हुने गरेको रकुवाकी स्थानीय ईश्वरी पङ्गेनीले बताउनुभयो । पक्की पुल नहँुदा पैदल हिँड्नुपर्दा समस्या हँुदै आएको पङ्गेनीको भनाइ छ । पक्की पुल बनेपछि सवारी सञ्चालन भएमा यात्रा गर्न सहज हुने उहाँले बताउनुभयो ।

नीलगिरि गौरी–पार्वती नेशनल जेभी काठमाडाँैले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेर पुल निर्माणको काम शुरु गरेको छ । दुई सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल दुई लेनको हुनेछ । केन्द्रीय सडक विभाग कार्यालयअन्तर्गत पुल विभागले रु २५ करोड ९३ लाख ५४ हजार ९०० बजेट उपलब्ध गराएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुङ्गानाले जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्र, तनहुँको घिरिङ र पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने ढुङ्गानाले बताउनुभयो ।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu