आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

रन्जना लिपिमा २२१७ वर्ष अघि लेखिएको यो ग्रन्थको आधारमा नेपालले राष्ट्रसंघको सदस्यता पायो


  • स्वदेश नेपाल
  • बुध, मंसिर २६, २०७५

दामोदर न्यौपाने – नेवारी पात्रोअनुसार यो नवौं महिना ( श्रावण २८, २०७४) हो । यो महिनाको ८ दिन ठमेलको विक्रमशील महाविहार विशेष उत्सवमय भयो । ५ महाविहारका धर्मगुरु जम्मा भए । स्वर्ण अक्षरको प्रज्ञापारमिता पाठ गरे । अनि भगवान्लाई ८४ व्यञ्जन खानेकुरा खुवाए ।

सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो, जसलाई हामीले पुस्तौंदेखि जोगाइरहेका छौं,’ महाविहारका सदस्यसचिव रहेन्द्रप्रसाद प्रधानले सुनाए, ‘यो सत : सहर्षसिर्खा प्रज्ञापारिता हो । यो मञ्जुश्रीकै पालामा सुनको अक्षरले लेखिएको हो ।’

प्रज्ञापारिमिता चार वेदजस्तै हो । यो पनि चार खण्डमा छ । पहिलो खण्ड ‘य’ हो । ‘य’ भनेको वायुतत्त्व हो । दोस्रो खण्ड ‘र’ बाट सुरु हुन्छ । ‘र’ भनेको अग्नितत्त्व हो । तेस्रो खण्ड ‘ल’ हो । ‘ल’ भनेको पृथ्वी तत्त्व हो । चौथो खण्ड ‘व’ बाट सुरु हुन्छ । ‘व’ भनेको वायुतत्त्व हो । ‘बौद्ध दर्शनमा पञ्चतत्त्वको महत्त्व छ । वायु, अग्नि, पृथ्वी र जलतत्त्वको बयान गरिएको छ । पछि आकाश तत्त्व थपियो,’ प्रधान भन्छन्, ‘जीव, निर्जीव सबैमा ४ तत्त्व हुन्छन् ।’

प्रधानका अनुसार वर्षमा एकपटक मात्रै पाठ हुन्छ प्रज्ञापारमिता । श्रावण कृष्णअष्टमीदेखि पढ्न सुरु हुन्छ । प्रज्ञापारिमिताको ‘य’ ग्रन्थमा ५ सय १७ पाना छन् । ‘र’ ग्रन्थमा ५ सय ६ पाना, ‘ल’ मा ५ सय १२ र ‘व’ मा ४ सय ९७ पाना छन् । ‘व’ ग्रन्थको केही पाना हराएका छन् । सरकारले संयुक्त राष्ट्रसंघको सदस्यका लागि आवेदन दिंदा यहींको केही पाना बुझाएको थियो । रञ्जना लिपिमा लेखिएको यो ग्रन्थ संस्कृत भाषामा छ । संयुक्त राष्ट्र संघको सदस्यताका लागि निवेदन दिने बेलामा सुरुमा नेपालले देवनागरिक लिपि बुझाएको थियो । यो लिपि भारतले बुझाइसकेको थियो । त्यही भएर नेपालले सदस्यता पाएन । ‘सन् १९५५ मा रञ्जना लिपिसहित आवेदन दियो । १९५६ मा सदस्यता पायो,’ प्रधान भन्छन्, ‘त्यही बेला बुझाएको पाना फिर्ता ल्याएनजस्तो छ । चौथो ग्रन्थमा ४/५ पाना पुग्दैन ।’

हरेक पृष्ठ तीन खण्डमा बाँडिएका छन् । हरेक खण्डमा ९ हरफ छ । एक लाइनमा एक सूत्र छ । यी सबै ग्रन्थ स्वयम्भूको धर्मधातु महाविहार बसेर लेखिएका हुन् । यही ग्रन्थका अन्तिम पानामा यो लेखिएको छ । यसको सुरुको तीन पाना मञ्जुश्रीले कान्छी औंलाले लेखेको प्रधान बताउँछन् । यी ग्रन्थ लेखिसक्ने कामचाहिं मञ्जुश्रीका चेला श्रीमनले गरेका थिए । श्रीमनले भारतको नालान्दा महाविहारबाट आचार्य गरेका थिए । पढ्दापढ्दै उनी त्यहीं पढाउन थाले । त्यहीको कुलपति भए । शाक्यमुनि गौतमले स्थापना गरेको नालान्दाको पहिलो कुलपति पनि उनै थिए । गौतम कुलपति भएको ७ सय वर्षपछि श्रीमन दोस्रा उपकुलपति भए । नालान्दा १३ औं शताब्दीमा मुस्लिम शासक खिल्जेले जलाइदिए । त्यहाँका महत्त्वपूर्ण ग्रन्थ सबै जले । ‘६ महिनासम्म धूवाँ आइरहेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ,’ प्रधान भन्छन् ।

बुद्ध संवत् ३४४ मार्ग शुक्ल पक्ष प्रतिपदा तिथिबाट यो ग्रन्थ लेख्न सुरु भएको प्रधान बताउँछन् । बुद्ध संवत् विक्रम संवत्भन्दा ४८७ वर्ष पुरानो छ । अहिले बुद्ध संवत् २५६१ हो । ‘यो ग्रन्थ २२१६ वर्षअघि लेखिएको हो,’ प्रधान भन्छन्, ‘यति पुरानो ग्रन्थ हामीले जोगाइराखेका छौं ।’ (नोट अहिले बुद्ध सम्बत् २५६२ हो )

विक्रमशील महाविहार पनि त्यति नै पुरानो भएको उनी बताउँछन् । प्रधानका अनुसार यसको स्थापना महामञ्जुश्रीले गरेका हुन् । वंशावलीअनुसार काठमाडौं उपत्यकाको उत्पत्ति नागदहबाट भएको हो । यहाँ सबैभन्दा पहिला बुद्ध आएका थिए । उनी नागदहको उत्तरपश्चिमको नागार्जुनमा बसेका थिए । बुद्धले नागदहमा चैत पूर्णिमामा कमलको बीज रोपेका थिए । बीउ रोपेर बुद्ध फर्किए । आफ्ना शिष्यलाई चाहिं यहीं छाडेका थिए ।

बुद्धले बीउ रोपेको ६ महिनापछि कमलको फूल उम्रियो । त्यही दिन स्वयम्भूको ज्योति कमलमा देखियो । ज्योतिको दर्शन गर्न बुद्ध धर्मावलम्बी आउन थाले । वंशावलीअनुसार पछि चीनबाट मञ्जुश्री आए । ज्योतिको दर्शन गरेपछि मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरे । चोभारबाट नागदहको पानी निकालेले उपत्यकालाई बस्न योग्य बनाइदिए । स्वयम्भूदेखि गुह्येश्वरीसम्म बस्नयोग्य नगर बनाइदिए । धर्माकर नाम गरेका एकजना क्षत्रीलाई राजा बनाइदिए । अनि आफू चीन फर्किए ।

प्रधानका अनुसार मञ्जुश्रीले सुरुमा यही महाविहार बनाए । विहारको पुरानो नाम थँ: वहि हो । नेवारी भाषामा थँ भनेको थकाली हो । ‘जेष्ठ विहार भएकाले यसलाई थँ : वहि भनियो,’ प्रधान भन्छन्, ‘यहीं थँ बाट अपभ्रंश भएर ठमेल भएको हो । यो नगरलाई सिंह कल्प नगर भनिन्थ्यो ।’

प्रज्ञापारमिता यही विहारमा कसरी आइपुग्यो भन्ने पनि किंवदन्ती छ । मञ्जुश्रीले चोभारको डाँडो काटेर पानी बाहिर पठाउँदा यहाँका नाग पनि सबै गए । नागलाई नजान मञ्जुश्रीले आग्रह गरे । यहीं मुनि नागलोक बनाएर राखियो । दक्षिणकाली टौदहमा कर्कट नागको दरबार बनाइयो । नागलोकलाई शिक्षित बनाउन राजा र राजकुमार नालान्दा महाविहार गए । उनीहरूको आग्रहअनुसार भिक्षु श्रीमन नागलोक आए । यहाँका सबैलाई शिक्षित बनाइदिए । यसबाट नागराज खुसी भए । ७ वटा टाउको भएको नाग उपहार दिए । श्रीमन नै पछि नागार्जुन बुद्ध कहलिए । नागार्जुनमा अहिले पनि उनको चैत्य छ । ‘उहाँले नागार्जुनबाट यही महाविहारका देवता सिंह सार्थबाहु गंधुरी भगवान्लाई दिनुभयो,’ प्रधान भन्छन्, ‘गंधुरी भगवान् मान्छेबाट देवता भएका हुन् । उहाँकै विहार भएकाले अहिले पनि प्रतिमा बनाएर राखेका छौं ।’

प्रधानका अनुसार १८ सय वर्षयता महाविहारको रेखदेख र प्रज्ञापारमिताको संरक्षण प्रधान परिवारले गरिरहेको छ । सिंह सार्थबाहु गंधुरी भगवान्को गुठी छ । यो गुठीमा प्रधान परिवारको ९ वटा डिभिजन छ । पिथ्याछें कवल, दुनेक्षे कवल, चासीचोक कवल, तखाछें, दुनेचुक कवल, न्हुछे कवल, असं छेकबल, एताली कबल–१ र एताली कबल–२ गरेर ९ वटा कवलमा विभाजन गरिएको छ । सबै डिभिजनमा १ सय ५० भन्दा बढी परिवार छन् । प्रत्येक डिभिजनबाट एक–एक सदस्यले गुठीमा प्रतिनिधित्व गर्छन् । सबै कबलको जेठो व्यक्ति (थकाली) गुठीको अध्यक्ष हुन्छन् । ९० वर्षीय श्याममान प्रधानले यो गुठीको कमान्ड सम्हालिरहेका छन् ।

गुठीको नाममा ३ हजार रोपनी जग्गा थियो । सामाखुसी, ठमेल, गोंगबु, म्हेपी, मनमैजु, भेडीगोठ, फुटुङ, धर्मस्थली, गुहेश्वरी, नागार्जुनलगायत ठाउँमा यही महाविहारको जग्गा थियो । २०३१ सालमा गुठी संस्थान बनेपछि गुठीका जग्गा रैकर हुन थाले । त्यही क्रममा महाविहारका जग्गा पनि रैकर भए । जग्गाका मोहीले नै जग्गा किन्न थाले । गुठी रैकर गरेबापत गुठी संस्थानले ३ करोड ५० लाख रुपैयाँको बैंकको बचत खातामा राखिदियो । त्यसको ब्याज वर्षमा ३ लाख ७१ हजार रुपैयाँ आउँछ । यही रकमले जात्रा, पूजा चलेको छ । रैकर नभएका जग्गा पनि अझै हजार रोपनी छ । त्यसबाट आउने अन्नले पनि जात्रा पर्व चलाउन सघाउ पुगेको छ ।

हरेक पन्ध्र दिनमा विशेष पूजा हुन्छ । महाविहारको मुख्य आकर्षणचाहिं सुनको अक्षरले लेखेको प्रज्ञापारमिता नै हो । संस्कृतिविद् यज्ञमान पति बज्राचार्यका अनुसार ४ वटै ग्रन्थ सुनले लेखिएका हुन् । ‘दुई पाना चाँदीले लेखिएका छन्,’ उनी भन्छन्, ‘बाँकी सुनको लेपले लेखिएका हुन् ।’

ग्रन्थ नीलपत्रमा लेखिएको छ । नीलपत्र हिमाली जडीबुटीबाट बनेको बज्राचार्य बताउँछन् । यसलाई तामाको बाकसमा राखिएको छ । यो विहारको नियमै अलग्गै छ । काठमाडौंका १८ महाविहारमध्ये ५ महाविहारकाले मात्रै यो ग्रन्थ पढ्न पाउँछन् । पहिलो ग्रन्थ (य) दोस्रो ग्रन्थ (र) ठहिंटीको मैत्रीपुर महाविहारले, तेस्रो ग्रन्थ (ल) असनको रत्नकेतु महाविहार र चौथो (व) ग्रन्थ कुसुमलाक्षीको हेमवर्ण महाविहार र हेनाकर महाविहारले पाठ गर्न पाउँछन् । वसन्तपुरको श्रखण्डतरुमुल महाविहारको दुईवटा कवलले मात्रै पाठ गर्न पाउँछन् । प्रधानका अनुसार गुठी संस्थानले पनि यहाँको गुठीलाई हस्तक्षेप गरेको छैन । पुरातत्त्व विभागले पनि हस्तक्षेप गरेको छैन । यहाँ हस्तक्षेप नगर्नू भनेर शाहवंशीय राजा रणबहादुर शाहले लालमोहरै लगाइदिएका थिए । महाविहारको उत्तरतिरको एउटा लङमा राखिएका छन् ग्रन्थ । यो ग्रन्थ भक्तजनले हेर्न पाउँछन् । तर फोटो खिच्न पाउँदैनन् । त्यही बेला लेखिएको एउटा डमी छ । त्यही डमी आठ दिन प्रदर्शनमा राखिएको हुन्छ । त्यसको भने फोटो खिच्न पाइन्छ । ‘पुरातत्त्व विभागले चारै ग्रन्थको फिलिम बनाउने भनेको थियो,’ प्रधान भन्छन्, ‘हामीले दिएनौं । यो अमूल्य निधि हो । यो गोप्य ग्रन्थ हो । हामी गोप्यै राखिराख्छौं ।’ -साभार कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट